काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित नेतृत्वले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
महासंघको कार्यालय टेकुमा आयोजित समारोहमा अध्यक्ष राणाले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई शपथ खुवाइन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।
आइतबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य पदाधिकारी एवं सदस्यलाई शपथ गराएका छन् ।
महासंघको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले सबै निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए । महासंघको नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आइतबार बिहान सार्वजनिक भएको हो ।