काठमाडौं। आइतबार छोटो भ्रमणका क्रममा नेपाल आइपुगेका चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङ्हेले नेपाली सेनाको मुख्यालय जंगि अड्डामा साँढे दुई घण्टा बिताए। भद्रकालीस्थित जंगिअड्डामा चिनियाँ रक्षामन्त्रीलाई सेनाले रेड कार्पेटमा स्वागत गरि सम्मान गारत अर्पण गर्दै जंगिअड्डा घुमाइएको थियो भने त्यसपछि नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता भएको थियो। त्यसलगत्तै नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा श्रव्य दृश्य सामग्री देखाइएको थियो।
सो क्रममा नेपाल र चीनको संयुक्त प्रतिनिधि मण्डल बिच छलफल समेत भएको थियो। छलफलमा २०७४ देखि सुरु भएर रोकिएको नेपाली र चिनियाँ सेना बीचको सगरमाथा फ्रेण्डसिप नामक संयुक्त सैन्य अभ्यास तत्काल सुरु गरिने विषयमा सहमती भएको छ। सो संयुक्त अभ्यास चीनबाट रक्षामन्त्री जनरल चाङ वानक्वान नेपाल भ्रमणमा आएका बेला विसं २०७४ सालदेखि सुरु भएको थियो।
चिनियाँ रक्षामन्त्री आउँदा यस बखत नयाँ सम्झौता नभए पनि पहिले सहमती भएका तर कार्यान्वयनमा आउन बाँकी सैन्य सहयोग सुरु गर्ने विषयमा छलफल केन्द्रित भएको हो।
सो क्रममा कोभिड १९ प्रतिकार्यका लागि नेपाली सेनालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउँने विषयमा छलफल भएको तर त्यसको खाका भने दुई देशका प्रतिनिधि बसेर तय गरिने नेपाली सेनाले जनाएको छ।
यसैगरी चिन सरकारका तर्फबाट दुई चरणमा गरी घोषणा भएका तर हस्तान्तरण गर्न बाँकी नेपाली सेनाका लागि ३ सय मिलियन आरएमबी बराबरको सैन्य सहयोग तत्काल उपलब्ध गराइने चिनका रक्षामन्त्रीले प्रतिबद्धता जनाएका छन।
प्रधानसेनापति पूर्णचन्द्र थापाको गत असार पहिलो साता भएको चिन भ्रमणमा घोषणा गरिएको १ सय ५० तथा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा १ सय ५० मिलियन आरएमबी बराबरको नेपाली सेनालाई सैन्य सहयोग घोषणा भएको थियो।
यसैगरी विश्वभर फैलिएको कोरोना महामारीका कारण रोकिएका अन्य तालिम तथा सहयोगहरुसमेत यथासिघ्र सुरु गर्ने विषयमा चिनियाँ रक्षामन्त्री सहमत भएका छन।आइतबार बिहान नेपाल आइपुगेका चिनियाँ रक्षामन्त्री फेङ्हे प्रधानमन्त्री तथा राष्ट्रपतिसँगको भेट सकेर साँझ नै फर्किएका छन।