इमरान खान नेतृत्वको सरकार निर्दयी रहेको भन्दै पाकिस्तानमा विशाल र्याली
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
48
Shares
काठमाडौं। पाकिस्तान लोकतान्त्रिक आन्दोलन पीडीएमले इमरान खान सरकारविरुद्ध पाकिस्तानका शहरहरुमा विशाल र्यालीहरुको आयोजना गरिरहेको छ । पार्टी अध्यक्ष मौलाना फजल उर रहमानले जुनसुकै हालतमा पनि इमरान खानसरकारविरुद्ध मुल्तान लगायतका शहरुहरुमा र्याली निकालिने बताएका छन् । तर, मुल्तान प्रशासनले भने पीडीएमको सार्वजनिक भेला हुने भनिएको कसिम बाग स्टेडियमको विद्युत काटिदिएको छ ।
पीडीएमका कार्यकर्ताहरुले यसअघि सरकारविरुद्ध र्याली निकाल्न उक्त स्टेडियममा भेला हुने तयारी गरिसकेका थिए । यसबाहेक पीडीएमसँगै पाकिस्तान पिपुल्स पार्टी (पीपीएम), पाकिस्तान मुस्लिम लिग नवाज(पीएमएल एन)का कार्यकर्ता एवं अध्यक्षहरु समेत र्यालीमा सहभागि हुँदैछन् । तर, खान सरकारले र्याली हुन नदिनका लागि उच्च राजनीतिक नेतृत्वलाई पक्रन सुरु गरेको थियो । पीएमएल एनका उपाध्यक्ष मार्यम नवाजले समेत र्यालीमा सहभागिता जनाउने बताएका छन् ।
३० नोभेम्बरमा मुल्तान सहरमा आयोजना गरिएको र्याली सुरु हुन नदिन खान सरकारले अनेकौं रणनीति अपनाएको छ । शान्त प्रदर्शन गरिरहेका विपक्षी दलका कयौं कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रम खान सरकारले नरोकेपछि र्याली सहित प्रदर्शन भइरहेको हो ।
यसबाहेक पाकिस्तान स्टिल मिलका करिब ४ हजार ५ सयभन्दा बढी कर्मचारीहरुलाई खान सरकारले हटाएको छ । यसविरुद्ध समेत पीपीपीका अध्यक्ष बिलावल जरदारीले आवाज उठाएका छन् । यसरी हजारौंं मानिसहरुलाई बेरोजगार बनाउने खान सरकार निर्दयी रहेको उनले बताएका छन् ।