काठमाडौँ । मंगलबार थप तेह्र सय चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ८ सय ३ पुरुष तथा ५ सय १ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ३४ हजार ७ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७३ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार ६ सय ३३ सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौँ उत्यकामा थप ५ सय ३० कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २ सय ९० पुरुष र २ सय ४० महिला छन् । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख नौ हजार ६ सय ५६ पुगेको छ ।
मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौँका ४ सय ९, ललितपुरका ८५ तथा भक्तपुरका ३६ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक्काइस जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।