काठमाडौं । नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वादविवाद भएपछि मंगलबारको बैठकमा दाहाललाई अन्य तीन नेताले साथ दिएका छन् । ओलीले कात्तिक २८मा प्रचण्डले ल्याएको प्रस्तावलाई आरोपपत्र मात्र भन्दै त्यो विषयमा कुनै एजेण्डा बन्न नसक्ने बताएपछि दाहालले तपाई को हो मेरो प्रस्तावलाई आरोपपत्र भनेर भन्ने भन्दै त्यस बिषयमा बैठकले निर्णय गर्छ भनेर कड्किएका थिए । त्यसपछि ओलीले यस्ता विषयमा बैठकभित्र छलफल हुँदैन भनेर कड्किएपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीविरुद्ध एकजुट भएर खनिएका थिए ।
उपाध्यक्ष वामदेव गौतमले पनि प्रचण्डको समर्थन गरेका थिए । बैठकमै छलफल हुनुपर्छ भनेर ईश्वर पोखरेल पनि थपिएका थिए । अध्यक्ष ओलीले बैठक सुरु भएको बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै भनेका थिए, ’आजको एजेण्डाचाहिँ के हो नि ?’ कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै अध्यक्षको प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताएका थिए । ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव ‘ झूठा आरोप ’ मात्रै भएको र यसले पार्टीको साख गिराउने काम गरेको बताएका थिए । ओलीले यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने बताएपछि प्रचण्ड निकै जंगिएर बोल्न पनि नपाइने प्रस्तावमाथि छलफल पनि गर्न नपाइने भन्दै अन्य नेताहरुको सहयोग मागेका थिए ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावलाई बुकलेटका रुपमा छापेर वितरण गरेकोमा पनि प्रचण्डले माफी माग्नुपर्ने अडान राखेका थिए । ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्ने बताए । ओलीले सहमतिका आधारमा अगाडि नबढ्दा पार्टी एकता कायम रहन नसक्ने बताउँदै भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिन पनि ।’ बैठकको सुरुमा केहीबेर बोलेका ओलीले प्रचण्डले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भने । त्यसो भनिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसेर खिल्ली उडाएको त्यो देखेपछि ओलीले भने, ‘किन हाँसेको ? म गम्भीर कुरा गरिरहेको छु’ भनेर प्रचण्डमाथि आँखा पल्टाएका थिए । त्यसपछि प्रचण्ड पनि कड्किएका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि कराए, ‘बोल्न पनि नपाइने ?’ वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले पनि ओलीको विरोध गरे । उपाध्यक्ष वामदेव गौतमले पनि यही छलफल गरौ भनिरहे । नेताहरुले एकसाथ लागेर ओलीको विरोध गरेपछि प्रचण्डले आफ्ना कुराहरु राखेका थिए ।
‘पार्टीमा बोल्नसमेत नदिने स्थिति छ, आएका प्रस्तावहरुमाथि छलफलै हुन्न भन्नुहुन्छ, साथीहरु आफ्नो दृष्टिकोण राख्नुस्’ भन्दै प्रचण्डले छलफलका लागि ‘फ्लोर ओपन’ गरे । सचिवालय स्रोतका अनुसार वरिष्ठ नेता नेपालले छलफल गर्ने कि नगर्ने भन्ने प्रश्न उठाउन आवश्यक नरहेको बताए । बैठकमा आएका प्रस्तावहरुमाथि छलफल हुर्नैपर्ने नेता नेपालले बताए । उपाध्यक्ष गौतमले भने, ‘छलफल त सुरु भएको र अध्यक्ष केपी कमरेडले पनि भाग लिइसक्नुभयो ।’ वरिष्ठ नेता खनालले बैठकमा आएका सबै प्रस्ताव पार्टीको सम्पत्ति भइसकेको बताए । त्यसपछि प्रचण्डले बहस र छलफल गरेर पार्टीलाई एउटा निष्कर्षमा पुर्याउन चाहेको उनले बताए । आफूहरुले २२ कात्तिकमा सचिवालय बैठकका लागि सहमति माग गर्दै पत्र बुझाएको, तर ओलीले १० पन्ने जवाफ लेखेर फायर खोलेको प्रचण्डले बताए । र, आफूले त्यसको प्रतिवाद मात्र गरेको प्रचण्डले बैठकमा बताएका थिए ।
प्रचण्डले केपी ओली कुण्ठाग्रस्त र व्यक्तिवादी भएको भन्दै आलोचना गरेका थिए । ओलीले ३८ पृष्ठको प्रस्तावमा ओलीले आफूमाथि लगाएका आरोप र उठाएका प्रश्नहरुको बुँदागत रुपमा लिखित जवाफ दिने प्रचण्डले बताएका थिए । ओली र प्रचण्डबीच घम्साघम्सी भएपछि ओली प्रचण्ड दुवै तनाबमा परेका छन् । पार्टीमा पेस गरेको जवाफी प्रतिवेदनपछि कार्यकारी अध्यक्ष प्रचण्ड पक्ष चिढिएको मात्रै होइन ओलीलाई तह लगाउने उपयुक्त समयको पर्खाइमा रहेका बेला मंगलबारको बैठकको शुरुमै घम्साघम्सी परेको थियो । उनीहरुले आत्मआलोचना खोजेको तर ओलीको प्रतिवेदनमा त्यस्तो भाषा नआएपछि पूर्व माओवदी पक्ष चिढिएका थिए । त्यही अनुसार प्रचण्डले मंगलबारको बैठकमा आफ्ना धारणा राख्दा ओलीले अब धेरै नबोल्नुस मन लागेको गर्नुस भनेर जवाफ दिएका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव व्यक्तिगत लाञ्छनामा केन्द्रित रहेकाले माफी मागेर प्रतिवेदन फिर्ता गर्नुपर्ने अडान ओलीले लिएका थिए । ‘व्यक्तिगत लाञ्छनामा केन्द्रित प्रतिवेदन फिर्ता गरेर माफी माग्नुपर्छ अनि सौहार्द रूपमा बैठकको परिस्थिति बन्छ,’ ओलीले भनेका थिए । ओलीलाई जवाफ दिँदै प्रचण्डले आफ्नो प्रतिवेदन सही वा गलत पार्टी कमिटीले निर्णय गर्ने बताएका थिए । ‘मेराविरुद्ध गरिएका घोचपेचका जवाफ मैले दिएको हुँ । यो मेरो मात्रै प्रतिवेदन होइन । हामी पाँच जनाको तर्फबाट आएको प्रतिवेदन हो, यो ठीक वा बेठीक भन्ने निर्णय पार्टी कमिटीले मात्रै गर्छ । व्यक्तिगत निष्कर्ष पार्टीले स्वीकार गर्दैन,’ प्रचण्डले बैठकमा भनेका थिए । अब यी प्रतिवेदनलाई स्थायी कमिटी बैठकमै लाने स्पष्ट सन्देश प्रचण्डले दिएका छन् । ओलीले भने सचिवालय बैठकमार्फत नै सुल्झाउन प्रयत्न गर्ने र सकभर स्थायी कमिटी बैठकलाई छल्ने रणनीति बनाएका छन् । त्यसै अनुसार ओलीले मंगलबारको बैठकमा प्रचण्डलाई विग्रहको बाटो रोज्ने कि सहमतिको बाटो रोज्ने भनेर सोधेका थिए ।