काठमाडौं । भारतमा कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेको संख्या ९५ लाख पुगेको छ । बुधबार बिहान ५ बजेसम्म संक्रमितको संख्या ९४ लाख ९९ हजार ७१० पुगेको कोभिड१९इन्डियाडटओआरजीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३६ हजार ४५६ जना संक्रमित थपिएका छन् । तर कोरोनामुक्त हुनेको संख्या भने बढी रहेको छ । ४३ हजार २०३ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने ८९ लाख ३१ हजार ७९८ जना पुगेका छन् ।
सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । १० लाख २० सक्रिय संक्रमित गत सेप्टेम्बरमा पुगेका भारतमा हाल ४ लाख २७ हजार ५२४ मा झरेका छन् ।
मंगलबार ५०० जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने १ लाख ३८ हजार १५९ पुगेको छ ।
सबैभन्दा बढी संक्रमित केरला, महाराष्ट्र र दिल्लीमा बढेका छन् । मंगलबार केरलामा ५ हजार ३७५, महाराष्ट्रमा ४ हजार ९३० तथा दिल्लीमा ४ हजार ६ जना संक्रमित थपिएका छन् ।
भारतले निकै राम्रोसँग कोरोना नियन्त्रण गर्दै गर्दा नेपालसँग जोडिएको बिहार राज्यमा मंगलबार ४८२ जनामात्र संक्रमित थपिएका छन् ।