काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग क्लबहरु लिभरपुल, म्यान्चेस्टर सिटी र पोर्चुगिच क्लब एफसी पोर्टो नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई १–० गोल अन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
खेलको ५८ औं मिनेटमा कुर्टिस जोन्सले लिभरपुलका लागि विजयी गोल गरे । निको विलियमको पासलाई सदुपयोग गर्दै जोन्सले गोल गरेका थिए ।
समूह डी को अर्को खेलमा सिरि ए क्लब एटलान्टाले एफसी मिडजिलेन्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । पाहुना टोली मिडजिलेन्डले खेलको १३ औं मिनेटमा अलेक्जेन्डर शोलजको गोलमा अग्रता लिएको थियो । खेलको अन्तिम समयमा घरेलु टोलीका क्रिस्टियन रोमेरोले बराबरी गोल गर्दै अंक खोसेका थिए ।
यो समूहमा १२ अंकसहित शीर्ष स्थानको लिभरपुलले नकआउट चरणमा स्थान पक्का गरेको हो । दोस्रो स्थानको एटलान्टाको ८, तेस्रो स्थानको अजाक्सको ७ र मिडजिलेन्डको १ अंक छ ।
समूह सी को खेल
समूह सीबाट अंर्को प्रिमियर क्लब म्यान्चेस्टर सिटी पनि नकआउट चरणमा पुगेको छ । म्यान्चेष्टर सिटीले मंगलबार भएको खेलमा घरेलु मैदानमा पोर्चुगिच क्लब एफसी पोर्टोसंग गोलरहित बराबरी खेल्दै शीर्ष स्थानसहित नकआउटमा पुगेको हो ।
यो बराबरीले पोर्टोले समेत एक खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
सोही समूहको अर्को खेलमा मार्सेले ओलम्पियाकोसलाई २–१ गोल अन्तरले हरायो । फ्रेन्च क्लब मोर्सेले ग्रिक क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । यी दुवै क्लब अर्को चरण प्रवेशको होडबाट बाहिरिएका छन् ।
समूहको शीर्ष स्थानको म्यान्चेस्टर सिटीको १३ अंक छ । दोस्रो स्थानको पोर्टोको १० अंक छ । दुवै टिम नकआउटमा पुग्दा समान ३ अंकका ओलम्पियाकोस र मार्से बाहिरिएका छन् ।
समूह बी को खेल
समूह बी को खेलमा स्पेनिस क्लब रियाल मड्रिड युक्रेनको शख्तर डोनेस्कसंग पराजित भयो । डोनेस्क २–० गोलले पराजित भएको हो । खेलको ५७ औं मिनेटमा डेनटिनहोले र ८२ औं मिनेटमा मनोर सोलोमनले गोल गरे ।
यो हारले भने रियालको नकआउटमा पुग्ने सम्भावना कठिन बनेको छ । समूह चरणमा अब अन्तिम चरणको खेल बाँकी छ । अघिल्लो चरण प्रवेश गर्न रियालले समूहको शीर्ष स्थानको बोरुसिया मोन्चेनग्ल्याडवाचलाई हराउनुपर्नेछ ।
सोही समूहको अर्को खेलमा ईन्टर मिलानले मोन्चेनग्ल्याडवाचलाई ३–२ गोल अन्तरले हरायो । इन्टरका लागि रोमेलु लुकाकुले दुई गोल गरे ।
जित सहित ईन्टरले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । उसले अन्तिम खेलमा शख्तरलाई हराउनुपर्नेछ भने समूहको दोस्रो खेलको नतिजा समेत पर्खनुपर्नेछ ।
अंक तालिकामा बोरुसियाको ८, शक्तरको ७, रियालको ७ तथा इन्टरको ५ अंक छ ।
समूह ए को खेल
समूह ए को खेलमा मंगलबार राति एट्लेटिको मड्रिड र बायर्न म्युनिखले बराबरी खेल्दै अंक बाँडे । स्पेनिस क्लब एट्लेटिको र जर्मन क्लब बायर्न म्युनिखले १–१ गोलको बराबरी खेलेका हुन् ।
सोही समूहको अर्को खेलमा साल्जवर्गले लोकोमोटिभ मस्कोलाई ३–१ गोल अन्तरले हरायो । साल्जवर्गले नकआउट चरण पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।
नकआउटमा पुगिसकेको शीर्ष स्थानको बायर्नको १३ अंक छ । दोस्रो स्थानको एट्लेटिकोको ६, साल्जवर्गको ४ र लोकोमोटिभको ३ अंक रहेको छ ।