arrow

प्रश्नपत्र आउट गर्नेहरुलाई सेवा आयोगको अध्यक्ष र डीन बनाउने तयारी

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राज्ञिक वातावरण बिग्रिने संकेत 

logo
प्रकाशित २०७७ मंसिर १७ बुधबार
krishi-university-sharada-t.jpg

काठमाडौं । प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुरका आरोपित व्यक्तिहरु फेरि नेतृत्वमा आउन दौडधुप गरेपछि विश्वविद्यालयका प्राध्यापक कर्मचारी र विद्यार्थीहरु अचम्मित भएका छन् । प्राज्ञिक ठाउँलाई बद्नाम गर्नेहरु सत्तासँग नजिक भएकै नाममा नेतृत्वमा आउन दौडधुप गरेपछि अहिले कृषि तथा वन विज्ञान विश्वविद्यालयका सरोकारवालाहरु अचम्मितसँगै रुष्ट भएका हुन् । 

२०७५ सालको एमएस्सी एनिमल साइन्सको प्रवेश परीक्षा लिने सन्दर्भमा विभेदकारी भर्ना समिति गठन गरी प्रश्नपत्र आउट गरेका आरोपितहरु नै फेरि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नेतृत्व लिन दौडधुपमा लागेपछि अहिले यसको शुरुदेखि नै विरोध हुन थालेको छ । आफ्नो नातेदार प्रवेश परीक्षामा संलग्न हुँदा परीक्षा सम्बन्धी कुनै पनि प्रक्रियामा सहभागी हुन नपाउने विश्वविद्यालयको सिद्धान्तलाई कुल्चँदै गतिविधि गरेका कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्राध्यापक डाक्टर शारदा थपलिया र सहायक डीन मातृका जमरकट्टेल अहिले पुनः नयाँ नियुक्ति लिन लागिपरेका छन् । सहायक डीन मातृका जमरकट्टेलकी छोरी संलग्न भएको एमएस्सी एनिमल साइन्सको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गरेको प्रकरणमा छानविन समितिले थपलिया र जमरकट्टेललाई नैतिक र प्रशासनिक जिम्मेवारी लिनुपर्ने प्रतिवेदन बुझाएको थियो।

प्रश्नपत्र आउट भएको विषयमा संलग्नहरुलाई कार्वाही गर्न माग गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका विद्यार्थीहरु पटक पटक आन्दोलित भएका थिए । विश्वविद्यालयको गरिमा गिराउने काम गरेको भन्दै प्राध्यापकहरु र कर्मचारीहरुले समेत विरोध गरेपछि तत्कालिन उपकुलपति ईश्वरीप्रसाद ढकालले २०७५ माघ २४ गते ३ सदस्यीय छानविन समिति गठन गरेका थिए । 

वन विज्ञान संकाय हेटौंडाका प्राध्यापक रमेश कुमार पाण्डेयको नेतृत्वमा पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका होमबहादुर बस्नेत र शंकरराज बर्सिला रहेको ३ सदस्यीय समितिले परीक्षामा भएको अनियमितता र आगामी दिनमा अपनाउनु पर्ने सावधानीका विषयमा सुझावसमेत समेटेर प्रतिवेदन दिएको थियो । 

तर सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरी विश्वविद्यालय प्रशासनले प्रतिवेदनले आरोपित भनी किटान गरेका व्यक्तिहरुलाई फेरि जिम्मेवार ठाउँमा आउनका लागि बाटो कायम राखेपछि अहिले विश्वविद्यालयमा फेरि आक्रोशको वातावरण पैदा हुन थालेको छ। 

प्रश्नपत्र अनियमितताको सवालमा भएको विरोधका क्रममा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए भने प्रजातन्त्रवादी प्राध्यापक संघले डीन कार्यालय र प्रशासनमा तालासमेत लगाएको थियो । छानविन समिति गठन भएको एक दिनपछि डीन थपलिया र संघका प्रतिनिधि प्राध्यापक डाक्टर पुष्करबहादुर पालबीच ४ बुँदे सहमति भएको थियो । सो सहमतिमा २०७५ पुष १३ गते गठित भर्ना समिति रद्ध गर्ने, प्रवेश परीक्षा सम्बन्धी कागजपत्र छानविन समितिलाई हस्तान्तरण नभएसम्म दुई पक्षको सुरक्षामा राख्ने र डीन कार्यालय र प्रशासनको ताला खोल्ने सहमति भएको थियो । 

तर समिति बनेर प्रतिवेदन बुझाइ सकेपछि सो समितिले औंल्याएका आरोपितहरुलाई कार्वाही गर्नुको साँटो अझ माथिल्ला पदहरुमा आउन मार्ग प्रशस्त गरिएपछि अहिले प्राध्यापकहरु तथा विद्यार्थीहरु संगठित विरोधको तयारीमा जुटेका छन् । 

हाम्राकुराले प्राप्त गरेको छानविन समितिको प्रतिवेदनमै उल्लेखित प्रवेश परीक्षामा नीतिगत र प्राविधि त्रुटीमात्र भएको भनेर पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय प्रशासन पन्छिन नमिल्ने भन्दै त्यसको नैतिक र प्रशासनिक जिम्मेवारी लिनुपर्ने प्रष्ट भनिएको छ । 

तत्कालिन उपकुलपति ढकालले गठन गरेको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्वाही गर्नुको सट्टा वर्तमान कुलपति प्राध्यापक डाक्टर पुण्य प्रसाद रेग्मीले आरोपित थपलिया र जमरकट्टेललाई जिम्मेवारी दिने तयारी गरेपछि विश्वविद्यालयको प्राज्ञिक वातावरण फेरि विथोलिने आशंका हुन थालेको छ। 

राजनीतिक प्रभावमा परी रेग्मीले आरोपित थपलियालाई सेवा आयोगको अध्यक्ष वा रजिष्टार र जमरकट्टेललाई डीन बनाउने अन्तिम तयारीमा रहेको विश्वविद्यालय स्रोतले जनाएको छ। तर रेग्मीले यो निर्णय लिएमा जानाजान आगोमा घ्यू हाल्ने जस्तो हुने विश्वविद्यालयका प्राध्यापकहरु र विद्यार्थीहरु बताउँछन्।



लोकप्रिय समाचार
नयाँ