arrow

रामचन्द्र पौडेलले उद्घाटन गर्न लागेको पुलमा तनाव, दमौलीमा निषेधाज्ञा जारी

logo
हरि पन्त,
प्रकाशित २०७७ मंसिर १७ बुधबार
damauli-bridge.PNG

पोखरा । तनहूँको एक पुल उद्घाटनको विषयमा विवाद हुँदा तनहूँमा तनाव उत्पन्न भएको छ । विवाद बढ्दै गएपछि तनहूँ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी भएको हो ।  राजनीतिक रंग दिएर विवाद भएपछि भिडन्त पनि हुन सक्ने देखिएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । 

जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी भएको हो । मध्यान्ह १२ बजेबाट लागू हुने गरी साँझ ६ बजेसम्म पुल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।  कांग्रेस निकटहरु पुल उद्घाटन गर्ने तयारीमा छन् भने नेकपा निकटहरु कुनै पनि हालतमा उद्घाटन गर्न नदिने पक्षमा उभिएका छन् । यो विवाद बढ्दै गएपछि तनहूँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पुल र दमौली बजारमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । जनपथ र सशस्त्र प्रहरी परिचालन भएको बताइएको छ । दमौलीमा मंगलबार साँझदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

कसरी भयो विवाद ?
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला तनहूँमा व्यस्त छन् । उनले मंगलबार दुई पुल उद्घाटन गरे भने बुधबार पनि एक पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तनहूँको व्यास नगरपालिकाको तालघरे र दुम्कीचौर जोड्ने बुल्दीखोला पुल एक वर्ष अघि नै निर्माण सम्पन्न भएको थियो । त्यो बेला दुवैतर्फ सडक पिच नगरिए पुल नै जोखिममा पर्ने भन्दै उपभोक्ता समितिले उद्घाटन गर्न रोकेको थियो ।

अहिले दुवैतर्फ सडक पिस भइसकेपछि उपभोक्ता समिति पुल उद्घाटनको तयारीमा जुटेको थियो । सडक नगरपालिकाले करिब ५० लाख रुपैयाँ खर्चिएर पिच गरेको तनहूँका पत्रकार पवन पौडेलले जनाएका छन् । पुल उद्घाटनका लागि तयारीमा उद्घाटन गर्ने व्यक्ति नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको नाम समेत लेखेर प्लेट टाँसिएको थियो । उक्त प्लेट प्रहरीले उप्काएर नगरपालिकाको प्रांगणमा राखेको छ ।

स्रोतका अनुसार गण्डकी प्रदेशको भौतिक पूर्वाधार कार्यालयले जिल्ला प्रशासनलाई पत्र काटेर पुल उद्घाटन गर्न रोक्नू भन्ने आदेश दिएको छ । सोही आदेश बमोजिम प्रशासन अघि बढ्को बताइन्छ ।  यो विवाद पछि आआफ्ना रणनीति तय गर्न नेपाली कांग्रेस र नेकपाको बैठक बसिरहेको बताएको छ । 

मनलाग्दी गर्ने छुट कसैलाई छैन : मन्त्री बस्नेत 
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जे मन लाग्यो त्यही गर्ने छुट कसैलाई नभएको बताए । पुल गण्डकी प्रदेश सरकारले बनाएको भन्दै उनले त्यसको तयारी र उद्घाटन प्रदेश सरकारले नै गर्नुपर्ने स्पष्ट पारे । पुल संघीय सरकारले बनाएको होइन, प्रदेश सरकारले नितान्त आफ्नै खर्चमा बनाएको हो । त्यसैले प्रदेश सरकारलाई या त्यहाँका सम्बन्धित कार्यालयलाई जानकारी नै नदिइ कसरी उद्घाटन हुन सक्छ ?, प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले प्रश्न गरे ।

पुल रामचन्द्र पौडेलजीले नै उद्घाटन गर्दा हुन्छ तर प्रदेश सरकार र त्यहाँका सम्बन्धित निकायलाई जानकारी त हुनुपर्यो नि, उनले भने । कोही कसैले बलमिचाइँ या कानून विपरीत गएर कुनैपनि कार्य अघि बढ्न नसक्ने मन्त्री बस्नेतले स्पष्ट पारे । 

पुलको लागत कति ?
२०७३ साल वैशाखमा निर्माण सम्झौता सम्पन्न भएर २०७५ कात्तिकमा सम्पन्न पुलको लागत दुई करोड ५४ लाख रुपैयाँ रहेको छ । पुलको दुवैतर्फको सडक पिच गर्दा नगरपालिकाले ५० लाख रुपैयाँ खर्च गरेको छ ।



लोकप्रिय समाचार
नयाँ