काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरु आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताए।
निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए। रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्ववपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ। त्यसका लागि सहकार्य हुन्छ। निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैनु, उनले भने।
कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए। उनले भने, निरन्तर संवाद र छलफलमा रहिरहन्छौं। सुझाव सुन्छौं। मिलेर काम गर्छौ। अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिएका थिए। महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए। सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए।