दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले छोडेको छ । निषेधाज्ञा तोडेको आरोप लगाउदै बुधबार अपराह्न वरिष्ठ नेता पौडेललाई प्रहरी कार्यालयमा राखिएको थियो । पौडेललाई साढे तीन घण्टापछि छाडिएको हो ।
तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजेबाट प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका हुन् ।
प्रहरीले वरिष्ठ नेता पौडेल, कांग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।त्यसपछि कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाए ।
“तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ”, उनले भने, “उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।” प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाए ।
जिल्ला कांग्रेस तनहुँले बुधबार भएको घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । कांग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन शुरु गरिने घोषणा गरे ।
बुधबार अपराह्न प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको कांग्रेसले जनाएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा बुधबारै बिहान विरोधसभा आयोजना गरेको थियो ।
दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । वरिष्ठ नेता पौडेल कांग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।