arrow

सचिव पदस्थापना, पहुँच भए काठमाडौं बाहिर जानु पर्दैन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १७ बुधबार
pm-office-ministry-cabinet.jpg

काठमाडौं। एकै पटक बढुवा भएका तीन सचिव मध्ये एक सचिवको पदस्थापना भएको छ भने बाँकि दुई सचिवलाई प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समुहमा थन्काइएको छ। अघिल्लो साता सचिवमा बढुवा भएका योगेन्द्र कार्कीलाई सरकारले कृषि मन्त्रालयमा लगेको छ। तर कार्कीसँगै बढुवा भएका गोकर्णमाणि दवाडी र सुरेश आचार्यलाई भने अतिरिक्त समुहमा थन्काइएको छ। हाल दवाडी र आचार्यले प्रधानमन्त्री कार्यालयमा हाजिरी गर्ने गरेका छन्। उनीहरूको लागि कार्यकक्ष समेत छुट्टयाइएको छैन।

कृषि समुहबाट सचिवमा बढुवा भएका कार्कीलाई कृषि मन्त्रालयमा पदस्थापना गर्ने निश्चित नै थियो। कार्कीलाई काठमाडौं बाहिर पठाउने ठाउँ थिएन। दवाडी र आचार्य भने सुरु देखि नै अन्यायमा पर्दै आएका छन्। यसअघि, दवाडीलाई सचिवमा बढुवा गर्न बढवा समितिले ६ पटकसम्म सिफारिश गरेको थियो। छैटौ पटकमा मात्र सरकारले उनलाई सचिवमा बढुवा गरेको छ। यस्तै अन्यायमा परेका छन आचार्य। आचार्यलाई सचिवमा बढुवा गर्न बढुवा समितिले १४ महिना अघि पहिलो पटक सिफारिश गरेको थियो। बढुवा समितिले गत साता दोश्रो पटक सिफारिश गरे पछि मात्र सरकारले उनलाई बढुवा गरेको हो।

कृषि मन्त्रालयमा अब अर्को एक सचिव पद खाली छ। खाली भएको ठाउँमा पुर्ती गर्न बढुवा समितिले ३ जनाको नाम सिफाशि गरेको छ। बढवा समितिले कृष्णप्रसाद आचार्य, प्रेमनारायण कँडेल र निरु दाहालको नाम सिफारिश गरेको छ। आचार्य हाल कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालय, कँडेल राष्ट्रिय निकुञ्ज विभाग तथा दाहाल १ नम्बर प्रदेशको भूमि व्यवस्था मन्त्रालयमा कार्यरत छन्। कृषि मन्त्रालयका दुई सचिव प्रकाश माथेमा र राजेन्द्र भारीले उमेर हदको कारण अवकाश लिए पछि सो मन्त्रालयमा दुई सचिव पद खाली थियो। एक पदमा कार्की बढुवा भएका छन्। बाँकि एक पद हाल रिक्त रहेको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सचिवमा बढुवा भएका दवाडीलाई सुदरपश्चिम प्रदेशमा प्रमुख सचिव बनाई पदस्थापना गर्ने तयारी भएको छ। गृहमन्त्री रामबहादुर थापासँग निकट मानिने रामकृष्ण सुवेदीलाई काठमाडौं ल्याएर उनको ठाउँमा दवाडीलाई पदस्थापना गर्ने तयारी भएको स्रोतको भनाइ छ। सुवेदी यसअघि गृहमन्त्रालयमा काम गरीसकेका छन्। त्यसैले उनी गृहमन्त्री थापासँग निकट मानिन्छन।

तर पहुँच भयो भने सचिवमा बढुवा भएर पनि काठमाडौं बाहिर जान पर्दैन। सहसचिवबाट सचिवमा बढुवा भए पछि पहिलो पदस्थापना काठमाडौं बाहिर पठाउने परम्परा नै छ तर यो परम्परा पुहँच भएका कर्मचारीको हकमा लागु हुँदैन। यसअघि रामशरण पुडासैनी, सूर्य गौतम र मधु मरासिनीले यस कुरालाई पुष्टि गरीसकेका छन्। सहसचिवबाट सचिवमा बढवा भएर पनि उनीहरु काठमाडौं बाहिर जानु परेन। उनीहरुको  पहिलो पोष्टिङ काठमाडौं मै भयो। पुडासैनी हाल राजस्व सचिव, मरासिनी महालेखा नियन्त्रकको कार्यालय, तथा सूर्य गौतम सार्वजनिक खरिद अनुगमन कार्यलयमा कार्यरत छन्।



लोकप्रिय समाचार
नयाँ