काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिम तयारीका लागि प्रारम्भिक चरणमा ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । गत कार्तिकमा बंगलादेश विरुद्धका दुई मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय टिम तयार गरी खेलाएको थियो । उक्त खेलपछि खेलाडीहरुलाई आराम दिइएको थियो ।
अब फेरि फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी रहेका ३ खेलका लागि एन्फाले बुधबार ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपालले छनोटका लागि घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेइसँग खेल्न बाँकी रहेको छ ।
सोही खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले ठूलो संख्यामा खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । बंगलादेश विरुद्धको खेलमा थोरै खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइएका कारण कोरोना संक्रमण र चोटले गर्दा अतिरिक्त खेलाडीहरु पुगेका थिएनन् ।
उक्त पाठबाट महर्जनले धेरै खेलाडी बोलाएका हुन् । उनले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर दिनेश राजवंशी र आदित्य चौधरी परेका छन् ।
प्रारम्भिक चरणमा ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्ड टिममा परेका छन् ।
यस्तै यस पटक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने १३ वटै क्लबका खेलाडी बन्द प्रशिक्षणका लागि डाकिएको टिममा अटाएका छन् ।
विमल, सन्तोष र दिनेशलाई गत वर्ष मंसिरदेखि नै एन्फाले कार्वाही गरेको थियो । त्यसपछि टिममा परेका थिएनन् । उनीहरु विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध खेल्न भुटान जाने अघिल्लो दिन डिस्कोमा गएर अनुशासन उल्लंघन गरेका थिए ।
यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरु–
गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की र देव लिम्बु ।