काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनीहरु सहित सरोकारवाला सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले प्रेस विज्ञप्ति जारी गर्दै ‘शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका सवालहरुमा पहुँच सुनिश्चित गरियोस । सुखी र खुशी नेपाली सहितको समृद्ध नेपालको यात्रामा अपाङ्गता भएका व्यक्ति कोही पनि नछुटुन्, पछि नपरुन् शुभकामना व्यक्त गर्न चाहन्छु’ भनेका छन् ।
उनले अपाङ्गता भएका व्यक्तिहरु महामारीको उच्च जोखिममा रहेको र कोभिडले अपाङ्गता भएका मानिसहरुको जनजीविकालाई समेत प्रभावित पारेको भन्दै महामारी र यसपछि अपाङ्गता भएका व्यक्तिहरुको उत्कृष्ट पुनरागमनको सुनिश्चितता गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय प्रतिवद्धता, दिगो विकासका लक्ष्यहरुको प्रभावकारी कार्यान्वयन र अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा मौलिक हकको पूर्ण र प्रभावकारी कार्यन्वयनमा सबै तहका सरकार र सरोकारवाला निकायहरूको गम्भीरतापूर्वक ध्यानाकर्षण समेत गराएका छन् ।
विगत वर्षहरुमा डिसेम्बर ३ का दिन विश्वव्यापीरुपमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस भव्यरुपमा मनाइएको थियो । नेपालमा पनि अपाङ्गता भएका व्यक्ति, सरोकारवाला, विभिन्न संघ–संस्था र सरकारी स्तरमा समेत उत्साहका साथ दिवस मनाइएको थियो ।