काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले पार्टी अब सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन् । नेपाली लोकतान्त्रिक समाजवादी आन्दोलनका धरोहर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा सरकारद्वारा गरिएको हस्तक्षेप र आक्रमणको निन्दा गर्दै उनले अब कांग्रेस यो सरकारविरुद्ध सशक्त आन्दोलनमा जानुको विकल्प नभएको बताएका हुन् ।
प्रेस वक्तव्य जारी गर्दै नेता जोशीले, ‘यो सरकारको यो प्रवृत्ति विकासका विरुद्धमा र लोकतन्त्रको खिलाफमा सर्वसत्तावादतिर उन्मुख छ । नेपाली जनताले लोकतन्त्रका निम्ति लामो लडाइँ लडेको यो सरकारलाई स्मरण गराउँदछु । लोकतान्त्रिक व्यवस्थामाथि कहीँकतै आँच आउने कार्य नेपाली जनतालाई सह्य हुनेछैन ।’ भनेका छन् ।
केन्द्रीय सदस्य जोशीले ‘कम्युनिस्ट हुँ भनी लोकतान्त्रिक संविधानका खिलाफमा भ्रष्टाचारको चुरोमा अलोकतान्त्रिक व्यवहार र अभ्यासका विरुद्धमा आमनागरिकप्रति गरिएको बेवास्तालाई जनताले टुलुटुलु हेरी बस्ने छैनन् ।’ भनी चेतावनी दिएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘तानाशाही पञ्चायती व्यवस्थाको समाप्ति ,लोकतान्त्रिक सङ्घीय गणतन्त्रको स्थापना जनताको ठूलो बलिदानबाट सम्भव भएको छ । संविधानसभा मार्फत् संविधान प्राप्त भएको छ । यो सत्यलाई नकार्ने यो सरकारलाई समयमा नै लोकतान्त्रिक मार्गमा ल्याउँदै लोकतन्त्रिक मार्गमा ल्याउन र लोकतन्त्रको मुलभूत मर्मलाई अपहरण गर्न खोज्ने तत्वलाई पराजित गर्नु हाम्रो दायित्व हो ।’
नेता जोशीले कांग्रेसका सबै नेता तथा कार्यकर्ता, सुभेच्छुक लगायतमा लोकतन्त्र ,संविधान र आम नागरिकको हित र कल्याणका लागि कांग्रेस सशक्त रुपमा आन्दोलनमा उभिन पनि आग्रह गरेका छन् ।