काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको ढण्डाले आफ्नो करङ दुखेको बताएका छन् । बुधबार गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका पौडेलमाथि प्रहरीले दमन गरेको थियो । उक्त दमनका क्रममा प्रहरीले डण्डासमेत लगाएको थियो ।
उनले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ भनी प्रतिक्रिया दिएका छन् ।
उनले बुधबारको तुलनामा बिहीबार करङ झन् बढी दुख्दै आएको उल्लेख गरेका छन् । तनहुँको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका नेकपा कार्यकर्ताले अवरोध गरेपछि प्रशासनले सत्ताको आडमा पौडलसहित कांग्रेस नेता तथा कार्यकर्तामाथि दमन गरेको थियो ।
जिल्ला प्रशासनले पुल उद्घाटन गर्न जानबाट रोक्नका लागि मध्यान्ह १२ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’