arrow

करणी मुद्दाका रेशमला जेलको पर्खाल नाघेर भागे, दुई प्रहरीको गयो जागीर

logo
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
prisoner-jail.jpg

चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई  प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् । उनीहरुलाई गत आइतबार नै निलम्बन गरिएको भए पनि प्रहरीले बिहिबार सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङका अनुसार तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका उनीहरुलाई निलम्बन गरिएको हो ।  यही मङ्सिर ११ गते साँझ ५:३० बजे सुरक्षाकर्मीले काम परिवर्तन गर्ने समयमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए । फरार श्रेष्ठको खोजी जारी छ ।

उक्त घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको समितिले प्रतिवेदन पेश गरेसँगै उनीहरुलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको हो । 
 
कारागार प्रशासन, सुरक्षा प्रशासन र  आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकाले विभागीय कारवाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ । भरतपुर कारागारबाट अहिलेसम्म सात कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । 

बाँकी ६ जना अदालत लैजाने र अस्पतालमा उपचारका क्रममा भागेको कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । दुई सय ८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ कैदीबन्दी राखिएका छन् ।



लोकप्रिय समाचार
नयाँ