काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजतन्त्र माग गर्नेलाई नियन्त्रण गर्न माग गरेका छन् । पछिल्लो समय राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
केसीले यस परिस्थितिमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको पक्षमा उभिने शक्ति सचेत र सङ्गठित भई प्रतिगामी शक्तिको गतिविधिलाई नियन्त्रण गर्न माग गरेका हुन् ।
राजावादीद्वारा देशभर हिन्दू राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति अध्यक्ष केसीले बिहिबार विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै राजतन्त्र आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्ने भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् ।
उनले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।