झापा । झापाको दमक नगरपालिका मालपोत कार्यालय दमकमा दुई दिन अघि समाचार संकलनमा गएका पत्रकार प्रति त्यहाँका कर्मचारिले गरेको अभद्र व्यवहार तथा दुर्व्यवहारको बिषयलाई लिएर घटनाप्रति दु:ख प्रकट गर्दै मालपोत कार्यालयले यस घटनाको निष्पक्ष छानविन गरेर दोषी उपर कार्वाही गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ ।
मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सेवाग्राही तथा पत्रकारहरुप्रति भएको घटना दु:खद भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति मालपोत कार्यालयले माफी समेत मागेको छ । हामीले यस बिषयलाई गम्भिर रुपमा लिएका छौ, बिज्ञप्तिमा भनिएको छ ।
घटनामा मालपोत कार्यालय दमकका कर्मचारीलाई सेवाग्राहीले १० हजार घुस दिएको भिडियो खिच्न जाँदा पत्रकार खगेन्द्र घिमिरेमाथि हातपात तथा दूब्र्यवहार भएको बताईएको छ । यस बिषयमा मुछिएका कर्मचारी ईन्द्र राजवंशीलाई मालपोत कार्यालयले २४ घण्टे स्पस्टिकरण सोधेको मालपोत स्रोतको भनाई छ ।
घटनाको बिषयलाई लिएर यता ईलाका प्रहरी कार्यालय दमकमा जाहेरी परेपछि राजवंशीलाई प्रहरीले सोधपुछका लागि हाजिर हुन आग्रह गरेको र आग्रह बेवस्ता गरे पक्राउ गर्न तयारी रहेको श्रोतको भनाई छ । साथै पत्रकार महासंघ झापा लगायतका संघसंगठनहरुले पिडितले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।मङ्सिर १६ गते मालपोत कार्यालय दमकमा पत्रकार खगेन्द्र घिमिरे माथि सांघातिक आक्रमण भएको थियो ।
मालपोतका कर्मचारीले घुस लिएको प्रमाण सहित रिपोर्टिङमा पुगेका उनीमाथि कुटपिट गरिएको थियो । रिपोर्टिङमा पुगेका घिमिरेले कर्मचारीले घुस लिएको भिडियो प्रमाणसहित पेश गर्दा व्यवसायीले कुटपिट गरेका थिए । सोही दिन कुटपिट गर्ने बिरुद्ध घिमिरेले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए ।
अनुसन्धान अनलाइन टिभीमा कार्यरत उनलाई मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालको कार्यकक्षमा कुटपिट गरिएको थियो ।