काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तो छ काठमाडौं उपत्यकाको अवस्था
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार काठमाडौंमा आंशिक बादल रहेको छ । दिउँसो पनि आंशिक बादल रहने र हल्का घाम पनि लाग्नेछ । तर अपरान्हपछि भने बादल लाग्नेछ ।
उनले काठमाडौं उपत्यकाका केही स्थानमा साँझ हल्का बर्षा हुन सक्ने बताएका छन् ।
हाल काठमाडौंको भिजिबिलिटी मात्र ४ किलोमिटर रहेको छ । बिहान न्यूनतम तापक्रम ७.५ डिग्री र अधिकतम १९–२१ डिग्री सेल्सियस हुने मौसमविद् सापकोटाले जनाए ।