काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले हत्या मुद्दामा जेल परेका ओलीले लोकतन्त्रको मर्म नबुझेको आरोप लगाएका हुन् ।
नेता पौडेलले ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाए । तनहुँको ब्यासमा पुल उद्घाटन गर्दै नेता पौडेलले प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष ओलीमाथि यो संगीन आरोप लगाएका हुन् ।
गत बुधबार नेकपा कार्यकर्ताको विरोधका कारण पौडेलले पुल उद्घाटन गर्न त पाएनन् नै जिल्ला प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएर राखेको थियो ।
प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि गरिएको यो चरम दमन थियो । सोही झोंकमा नेता पौडेलले ओलीमाथि यो आरोप लगाएका हुन् ।
नेता पौडेलले कम्युनिष्टहरू लोकतन्त्रवादी हुनै नसक्ने जिकीर गर्दै ओली झापा काण्डमा व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको र अझै नसुध्रेको टिप्पणीसमेत गरे । उनले भने, ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर ? ज्यान मुद्दामा बसेको हो । कहाँबाट लोकतन्त्रका लागि बसे ? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन ।’
थप आक्रोशित हुँदै पौडेलले थपे, ‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो । जोशमा आएर झापा काण्ड घटिहाल्यो । यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ । केपी ओली मेराअगाडि कुरा गरुन् ।’
पौडेलले ‘बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे राष्ट्रवादको हिरो बन्न खोजेको’ भनी टिप्पणी गरेका छन् । उनले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएकाले लोकतन्त्र सुरक्षित गर्ने आन्दोलनको शुरुवात भएको पनि बताएका छन् ।
बुधबार प्रहरीले आफूमाथि डण्डासमेत लगाएको पौडेलले बताएका छन् ।