काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौँमा ९४ वर्षको उमेरमा निधन भएको हो । नयनबहादुर स्वाँरले सुर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री भएर काम गरेका थिए ।
सभापति देउवाले शुक्रबार शोक वक्तव्यमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।
पिता हर्कजङ्गबहादुर स्वाँर र माता कौशिल्यादेवी स्वाँरको सन्ततीको रुपमा विसं १९८४ मङ्सिर ९ गते जन्मिका स्वाँरले विसं २००६ मा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए । स्व स्वाँरका चार छोरी र दुई छोरा छन् ।