काठमाडौं। नेपाली कांग्रेसले आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार र पक्राउको बिरोधमा १३ औं दिनमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। तर कांग्रेसले आफ्नो निर्णयमा रामचन्द्र पौडेलको नाम लिन भने उचित नठानेको उसको निर्णयमा झल्किएको छ। नेपाली कांग्रेसको निर्णय भन्दै पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी ब्यवहार लगायतका बिषयमा ७७ जिल्लामै देशव्यापी प्रदर्शन गर्ने उल्लेख छ।
कांग्रेसको दुई बुँदे निर्णयमा भनिएको छः १. तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी ब्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने ।
२, राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरूसंगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने ।
प्रतिपक्षीय भूमिकामा कमजोर देखिएको आरोप लागिरहेको नेपाली कांग्रेसको यो निर्णयको बारेमा स्वयं नेपाली कांग्रेसका नेताहरुबाट पनि बिरोध भएको छ। घटना भएको १३ दिनपछिको कार्यक्रम समयका हिसाबले कुनै प्राथमिकतामा नपरेको देखिएको छ भने स्वयं घटनामा पिडित भएका कांग्रेस नेता पौडेलको नाम लिन हिच्किचाउने प्रवृत्तीको पनि आलोचना भएको छ।
कांग्रेस नेता गुरुराज घिमिरेले त सार्वजनिक रुपमै कांग्रेस निर्णयको आलोचना गरेका छन् । उनले ट्वीटरमा आफ्नै नेताको नाम किटेर निर्णय गर्न नसक्दा के को प्रदर्शन भन्दै प्रदर्शनमाथि नै गम्भिर प्रश्न गरेका छन् । उनले रामचन्द्र पौडेलमाथी माथि आक्रमण हुदाँ त यस्तो छ, हामी माथी भए के हुन्छ होला भन्ने प्रश्न गर्दै ट्वीटमा लेखेका छन्, 'कति कमजोर निर्णय ? त्यसै हेपेका होइन जस्तो छ । आफ्नो नेताको नाम किटेर निर्णय गर्न नसक्ने ? के को प्रदर्शन ? रामचन्द्र माथि आक्रमण हुदाँ त यस्तो छ, हामी माथी भए के हुन्छ?'