काठमाडौं । भारतले पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ । क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले घरेलु टोलीअष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
खेलमा भारतले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५० रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन, म्याथ्यु सर्टले ३४ रन, मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाए ।
भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३–३ विकेट लिए । नटराजनले टी–२० डेब्युमै उत्कृष्ट खेलेका हुन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको नोक्सानीमा १ सय ६१ रन बनायो । केएल राहुलले ५१ रन, रविन्द्र जडेजाले नटआउट ४४ रन, सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डेयाले १६ रन बनाए ।
अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३ विकेट लिए । मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्विपसनले १–१ विकेट लिए ।
यो जितले भारतले ठूलो राहत पाएको छ । एक दिवसीय सिरिज २–१ ले गुमाएको भारतले टी–२० सिरिजमा भने १(० को अग्रता बनाएको छ । तीन खेलको सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।