काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी एकपटक फेरि उर्लिएको छ । तीन दिनको अवधिमा २० लाख भन्दा बढी कोरोनाका संक्रमित थपिएका छन् । यो तीन दिन सबैभन्दा बढी संक्रमित थपिएका हुन् ।
त्यसैगरी तीन दिनमा ३४ हजार पाँच सय जनाको ज्यान गएको छ । यो पनि सबैभन्दा बढी हो । बुधबार ६ लाख ४२ हजार ८३६ जना संक्रमित थपिँदा १२ हजार ५१६ जनाको ज्यान गएको हो ।
बिहीबार ६ लाख ८८ हजार ३३३ जना संक्रमित थपिँदा १२ हजार ८३४ जनाको ज्यान गएको छ । शुक्रबार ६ लाख ८४ हजार ४७ जना संक्रमित हुँदा १२ हजार ११५ जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा शुक्रबार मात्रै २ लाख ३६ हजारको हाराहारीमा संक्रमिमत थपिँदा २ हजार ७१२ जनाको ज्यान गयो । बिहीबार २ लाख २० हजार ६४३ जना संक्रमित थपिँदा २ हजार ९२१ जनाको ज्यान गयो । बुधबार २ लाख ६ हजार ७३ जना संक्रमित थपिँदा २ हजार ८७३ जनाको ज्यान गयो ।
अमेरिकामा अहिलेसम्म १ करोड ४७ लाख ७३ हजार संक्रमित हुँदा २ लाख ८५ हजार ५४५ जनाको ज्यान गएको छ ।
दोस्रो स्थानको भारतमा ९६ लाख ८ हजार ४१८ संक्रमित हुँदा १ लाख ३९ हजार ७३६ जनाको ज्यान गएको छ । तेस्रो ब्रजिलमा ६५ लाख ३४ हजार ९५१ जना संक्रमित हुँदा १ लाख ७५ हजार ९८१ जनाको ज्यान गएको छ ।
हालसम्म विश्वभर ६ करोड ६२ लाख १२ हजार संक्रमित छन् भने १५ लाख २३ हजार ६०० को ज्यान गइसकेको छ । हाल १ करोड ८८ लाख ९० हजार सक्रिय संक्रमित रहेका छन् ।