ओलीलाई बहुमतले पेलेरै राख्यो स्थायी कमिटी बैठक, राजीनामा नदिने ढिपी गरेका ओली बैठकमा जाने सम्भावना कम
नेकपा विवाद बहुमत अल्पमततिर
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २० शनिबार
61
Shares
काठमाडौं। सत्तारुढ दल नेकपाको आन्तरिक विवाद अब बहुमत/अल्पमततिर उन्मुख भएको छ । शनिवारको सचिवालय बैठकमा बहुमत सदस्यहरुको निर्णयले स्थायी कमिटी बैठक राख्ने निर्णयभएपछि विवाद अब बहुमत/अल्पमततिर उन्मुख भएको हो । विवाद बढिरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली थप दबाबमा पर्दै गएका छन् । सचिवलायमा अल्पमतमा परेपछि दबाबमा परेका ओली स्थायी कमिटी बैठक बोलाइएपछि झन दबाबमा परेका छन् । सचिवलायमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म सचिवलाय बैठकमा सहभागी नहुने अडान राख्दै आएका ओली शनिबार अन्तिममा बैठकमा सहभागी भएपनि बैठकमा उनको प्रभावले काम गरेन ।
शनिबारको बैठकमा ओली सहभागी नभएको भए पनि प्रचण्ड–माधव समूहले बैठकलाई अगाडि बढाउने तयारी गरेको थियो । जसरी पनि बैठक अगाडि बढ्ने देखेपछि ओली अन्ततः बैठकमा सहभागी भए तर, बैठकले उनको इच्छाविपरित निर्णय गरेको छ । बैठकले आइतबारको स्थायी कमिटी बैठकमा हालसम्म सचिवलायमा दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तावहरु र अन्य दस्तावेजहरु लैजाने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकटमोचन गर्न सचिवलायमा रहेका सबै दस्तावेजहरुलाई स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए । तर, शनिबारको बैठकमा ओलीले स्थायी कमिटीको आवश्यक नरहेको बताएको एक नेताले जानकारी दिए । उनका अनुसार ओलीले विना एजेण्डाको किन बैठक बस्नु पर्यो भनेका थिए । तर, प्रचण्डलगायत बहुमत सदस्यहरु बैठकको पक्षमा रहेका थिए ।
स्थायी कमिटीमा सबै दस्तावेजहरु लैजाने तर, त्योबीचमा अनौपचारिक कुरालाई पनि निरन्तरता दिने सहमति जुटेको छ । प्रवक्ता श्रेष्ठले नेताहरुबीच स्थायी कमिटी बैठक चल्दैगर्दा पनि अनौपचारिक वार्ता गर्ने सहमति भएको जानकारी दिए । शनिबार पनि सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच वार्ता भएको थियो । तर, सो वार्ताले कुनै निष्कर्ष ननिकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सचिवालयमा रहेको विवाद अब स्थायी कमिटीमा सरेको छ । भोलिका लागि बोलाइएको स्थायी कमिटीमा कसरी छलफल अगाडि बढ्छ पार्टीको भविष्य त्यसैअनुसार अगाडि बढ्ने नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्थायी कमिटी बैठकमा कसरी छलफल शुरु हुन्छ अनिमात्र केही भन्न सकिने बताए ।
नेकपा स्थायी कमिटी ४२ सदस्यीय छ। १३ जना स्पष्ट रुपमा ओलीको समर्थनमा रहेको बताइन्छ । ओली स्थायी कमिटीमा पनि अल्पमतमा रहने देखिएको नेताहरुले बताएका छन । अल्पमतमा रहेकाले ओलीले सबै निर्णय सहमतिबाटै हुनुपर्ने विधानको व्यवस्था रहेको तर्क गर्दै आएका छन् । शनिवारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कसैको बलले राजिनामा नदिने बताएका छन् । उनले आफ्नो पुरानै कुरा दोहोर्याउदै दुवै पदबाट राजिनामा नदिने बताएका हुन् । बैठकको कुनै काम नभएको भन्दै आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीका लागि तय गरिएको स्थायी कमिटीमा ओलीले नआउने संकेत देखाएका छन् । शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए ।
‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।’ स्थायी कमिटी बैठक नै नबस्ने अडानमा ओली रहेपनि सचिवालयका बहुमत सदस्यहरूले आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नुपर्ने निष्कर्ष निकालेका थिए । आफुमाथी लगाएका आरोपका विषयमा कुनै कमिटीमा छलफल हुन नसक्ने भन्दै पहिले कार्यकारी अध्यक्षले प्रस्तुत गरेको आरोपपत्र फिर्ता हुनुपर्ने अडान राखेका थिए ।
प्रधानमन्त्रीको उक्त भनाईपछि सचिवालयका अन्य सदस्यहरुको त्यसको प्रतिवाद गरेका थिए । उनीहरुले बैठकबाट भाग्न नमिल्ने बताएका थिए । तर, प्रधानमन्त्रीले जुनुसुकै बैठकमा छलफल भएपनि आफुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने स्पष्ट पारेका थिए । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका आएका प्रस्तावहरु स्थायी कमिटीको बैठकमा लैजाने प्रस्ताव गरेका थिए । त्यसमा सचिवालयका सदस्यहरु झलनाथ,खनाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सहमती जनाएका थिए । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले अहिले पनि गल्ती स्वीकार नगरेको र आफु सुप्रिमो हो भन्ने दम्भ रहेको भन्दै उनको आलोचना गरे । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले दुवै अध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव तयार गरौ भन्दै उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा कार्यदल गठनको प्रस्ताव राखेका थिए । त्यसमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले समर्थन जनाएका थिए । तर,सचिवालयका बहुमत सदस्यले त्यसमा विरोध जनाएका थिए । उनिहरुले कार्यदलको औचित्य समाप्त भएको भन्दै जे निर्णय भएपनि स्थायी समितीबाटै गर्नुपर्ने भन्दै उक्त प्रस्ताव अस्विकार गरेका हुन् । वादलको प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमले समेत कार्यदलको काम नभएको भन्दै आफु उक्त कार्यदलमा नबस्ने बताएका थिए ।
प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, महासचिव वादल र उपप्रधानमन्त्री पोखरेलको असहमतिका बावजुत आइतवार १ बजे स्थायी समितीको बैठक बोलाउने निर्णय भएपनि प्रधानमन्त्री ओली पक्षीय नेताहरु सहभागी हुने सम्भावना कम भएको स्रोतको दावी छ । शुक्रवार साँझ प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लामो टेलिफोन वार्ता भएको थियो । सचिवालय बैठकअघि समेत दुवै नेताबीच छलफल भएपछि सचिवालय बैठक सुचारु भएको थियो । तर, वैठकमा नेताहरुबीच बाझाबाझ भएपछी सचिवालय वैठकमा सहमती जुट्न सकेन ।