रुपन्देही । स्थानिय स्तरमा व्यापक रुपमा साना बालकदेखि केही व्यक्तिहरु परिचालन गरी कृषि कार्यका लागि लैजाने भन्दै गोरु खरिद गर्ने र सेटिङ्गमा तेस्रो मुलुक पुर्याउँदै आएका गोरु तस्करहरुको कार्यलाई रुपन्देहीले प्रहरीले पहिलो पटक ब्रेक लगाएको छ ।
शनिवार पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका ५ वटा ट्रकमा १ सय २१ वटा गोरुलाई बुटबलमा प्रहरीले गोरु ओसारपसारमा प्रयोग भएका ५ वटा ट्रकसहित उक्त गोरु नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले ना ५ ख ५६५५, ना ८ ख ७३०२, बागमती प्रदेश ०३–००१ ख ०३३३, ना ६ ख ५७१२ र ना ५ ख ७५३९ नं।को ट्रकलाई चेकजाँच गर्दा गोरु लोड गरी ल्याएको र कागजात समेत शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जनाए ।
प्रहरी प्रवक्ता थापाका अनुसार ट्रक र ट्रकमा रहेका गोरुहरुलाई भने पशु क्वारेन्टिन भैरहवा पठाइएको बताउँदै, सो बारे थप अनुसन्धान पक्रिया अगाडि बढाइएको बताएका छन् ।
यसैबीच प्रहरीले गोरु ओसार पसारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जना चालकलाई पक्राउसमेत गरेको छ । यसरी पक्राउ पर्नेहरुमा बाराको निजगढका ३६ वर्षीय गणेश पौडेल, ५२ वर्षीय शम्भु भट्टराई, ३२ वर्षीय नवराज कार्की, बाराकै जितपुर सिमराका ३८ वर्षीय तिलकबहादुर जिम्बा र मकवानपुर हेटौँडाका लक्ष्मण दनै रहेका छन् ।