चितवन । राजसंस्थासहित हिन्दूराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलावद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न् । वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेका हुन् ।
वीर गोर्खाली अभियानले चितवनमा पनि राजसंस्था पुनःस्थापनाको माग गर्दै र्याली प्रदर्शन गरेको छ। ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार मोटरसाइकल र्यालीसहित विशाल प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा र पूर्व राजा–रानी ज्ञानेन्द्र–कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर भरतपुरस्थित पारस बसपार्क बाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोक बाट पुनः पारस बसपार्कमा पुगेर र्याली कोणसभामा परिणत भएको हो ।
र्यालीमा करिब ५ हजार भन्दाबढी मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । र्यालीपछि पारस बसपार्कमा भएको कोणसभामा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे।
उक्त कार्यक्रममा अभियन्ताहरु नगेन्द्र देउजा, बिपिन तण्डुकार लगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए।
कार्यक्रम संचालक सौरभ भण्डारीले अहिलेको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।
विगतदेखि राजसंस्था र राष्टियताका लागि आवाज उठाउँदै आएका र स्वतन्त्र नागरिक एवं छरिएर रहेका सम्पूर्ण संघ संस्थाहरुलाई एकै ठाउँमा संगठित गर्ने काम वीर गोर्खाली अभियानले गरेको बताइएको छ ।