arrow

केपीले जिताएका लिङदेनको नेतृत्वमा झापामा राजावादीहरुको ऐतिहासिक प्रदर्शन 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७७ मंसिर २१ आइतबार
rajabadi-julus1.jpg

झापा । प्रधानमन्त्री एवं नेकपाका अध्यक्षका केपी शर्मा ओलीले जिताएका राप्रपाका सांसद राजेन्द्र लिङदेनको नेतृत्वमा झापामा राजावादीहरुले ऐतिहासिक प्रदर्शन गरेका छन् । राप्रपा झापाको आयोजनामा राजसंस्थाको पक्षमा झापामा राजतन्त्रको पुनर्बहाली र हिन्दू राष्ट्रको माग गर्दै विशाल शक्ति प्रदर्शन भएको छ ।                             

प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए । हरेक स्थानीय तहबाट ११ बजे र्याली निस्किएर १० हजार भन्दा बढीको सहभागीतामा काँकडभिट्टाबाट एकीकृत र्याली प्रारम्भ भएको थियो । 

साढे १ बजे बिर्तामोडमा संक्षिप्त सभासहित कार्यक्रम भएको आयोजकले बताएको छ । ‘मुलुकमा अहिलेको जुन प्रणाली छ, त्यसले देशलाई निकास दिन सक्दैन । यो साझा प्रणाली होइन । यसले जनताको भावनाको भावनाको कदर गर्न सक्दैन, नेपालजस्तो भूराजनीतिक परिस्थिति भएको मुलुकको लागि राजसंस्था आवश्यक छ ।’ लिङदेनले भने । 

उनले भने, ‘हामीले पहिल्यैदेखि यो प्रणालीले काम गर्न सक्दैन भनेर भनिरहेका थियौँ । त्यो अहिले सत्य सावित हुँदै आएको छ । अहिले पात्र र प्रणाली दुवै असफल हुँदै आयो । यही पात्र र प्रणालीमा गयौँ भने देश दुर्घटनामा जाने निश्चित छ । त्यसैले शान्तिपूर्ण माग भइरहेको छ । देशका ठूला पार्टी भन्नेहरुले यसलाई सम्बोधन गरेर सबै अटाउने सहमतिको राजसंस्था, हिन्दू राष्ट्र स्थापना गर्न सक्नुपर्छ । राजसंस्था फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो । यो नै मुलुकको समस्याको समाधानको एकमात्र विकल्प हुनसक्छ ।’

ठूलो संख्यामा सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ लगायतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा बिर्तामोडमा भएको कार्यक्रममा लिङदेनले शनिबारको प्रदर्शन शुरुवात मात्र भएको चेतावनी दिए।

उनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ ।’ राजसंस्था तथा हिन्दूराष्ट्र देशको आजको आवश्यक्ता भएको नेता लिङदेनले बताए ।

राप्रपा झापाका अनुसार र्यालीमा १० हजार मोटरसाइकल र ५० भन्दा बढी बसहरु प्रयोग भएका छन् । सरकारले कुनै दमन तथा अवरोध गरे त्यसलाई पन्छ्याएर अघि बढ्ने रणनीति लिइएको राप्रपा झापाले जनाएको छ ।

केपी ओलीले तत्कालीन एमाले र माओवादी मिलेर पनि कांग्रेसलाई हराउन सक्ने अवस्था नरहेपछि लिङदेनलाई समर्थन दिएर राप्रपालाई प्रतिनिधिसभामा ऐतिहासिक एक सिट जिताएका थिए । 

अहिले तिनै ओलीको जिल्लामा लिङदेनको नेतृत्वमा ओलीकै विरोधमा नारा घन्किँदासमेत उनी निरुत्तर भएका छन् । राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापनाको माग मात्र गरेको छैन ओली सरकारको भ्रष्टाचार र बेथितिको समेत भण्डाफोर गर्दै आइरहेको छ । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिने ओलीले देशैभर राजावादीहरुले नाराजुलुस निकाल्दासमेत मौन रहनुमाथि अर्को कुनै षड्यन्त्र पो गरिरहेका छन् कि भन्ने आशंका पनि बढेको छ । 



लोकप्रिय समाचार
नयाँ