arrow

चितवन, झापा र काठमाडौंमा राजावादीहरुको शक्ति प्रदर्शनको अर्थ र सन्देश

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २१ आइतबार
rajabadi-julus1.jpg

काठमाडौ । शनिबार एकैदिन राजावादीहरुले चितवन, झापा, काठमाडौं, मकवानपुर लगायतमा प्रदर्शन गरे । फरक फरक संस्थाको नामबाट प्रदर्शन गरे पनि प्रदर्शनको उदेश्य एउटै हो, वर्तमान व्यवस्थाप्रति जनतामा वितृष्णा जगाउनु र धर्मको नामबाट राजसंस्थालाई पुनस्थार्पना गर्नु । राजावादीहरुले शनिबार यस्तो जिल्ला रोजे जो आफैंमा रणनीतिक चयन थियो । काठमाडौं मुलुकको केन्द्रीय राजधानी हो, त्यसैले पनि काठमाडौमा गरिएको प्रदर्शनले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सन्देश जान्छ । काठमाडौ पछि उनीहरुले चितवन र झापा जिल्ला रोजे । चितवन नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष पुष्पकमल दाहालको जिल्ला हो भने झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको दुई ‘पाइलट’कै गृह जिल्लामा प्रदर्शन गरी राजावादीहरुले आफ्नो शक्ति प्रदर्शन गरे । काठमाडौंमा गरिएको प्रदर्शनको आयोजना नेपालकोलागि नेपाली  र स्वतन्त्र नागरिक समाजको नामबाट गरिएको थियो भने चितवनको प्रदर्शन वीर गोरखाली (एटिएफ)ले गरेका थियो । यसैगरी झापा र मकवानपुरको प्रदर्शन राप्रपाले गरेको हो । नेपालकोलागि नेपाली र स्वतन्त्र नागरिक समाजका अध्यक्ष सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने हुन भने वीर गोरखालीको अध्यक्ष सन्तोष राजावादी हुन् । यी तीन व्यक्ति राजावादी हुन र मुलुकमा सक्रिय राजतन्त्र चाहन्छन् । 

अहिले सरकारको कार्यशैलीप्रति जनता निराशा छन् । कोरोनाको महामारीले आक्रान्त जनतालाई सरकारले सामान्य राहत दिन सकेन । सरकारले नागरिकको स्वास्थ्यमा खेलवाड गरेको छ । यस्तो बेला जनतामा निराशा उत्पन्न भएको छ । यस्तो निराशाको फाइदा उठाउदै राजावादीहरु व्यवस्थाकै विरोधमा उत्रेका छन् । राजावादीहरुको यस्तो प्रदर्शनमा कुनै ठाउँमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले पनि समर्थन गरेका छन् । कुनै कुनै प्रदर्शनमा नेकपा र कांग्रेसका कार्यकर्ताहरु आफैं सहभागी भएका छन् । दाङको प्रदर्शनमा स्थानीय कांग्रेसका कार्यकर्ता सहभागी भएको समाचार आएको छ । राजावादीहरुले हिन्दु धर्मको एजेण्डालाई चर्को रुपमा उठाएका छन् । बहुसख्यक जनता हिन्दु धर्मावलम्बी भएको देशमा हिन्दु धर्मको एजेण्डाले स्वाभाविक रुपमा सबैको मन छुन्छ ।

कांग्रेसका एक थरी नेताहरुले हिन्दु धर्मको एजेण्डालाई जोडतोडले उठाएका छन् । हिन्दु धर्मको एजेण्डामा कांग्रेसका ती नेताहरु र राजावादीहरुले उठाएको हिन्दु राष्ट्रको एजेण्डा मिलेको छ । त्यसकारण पनि राजावादीहरुले गरेको प्रदर्शनमा कांग्रेसका केही कार्यकर्ताहरुको सहानुभुति हुन सक्छ । जे भए पनि राजावादीहरुको प्रदर्शनले कांग्रेसलाई आगामी महाधिवेशनमा अबको रणनीति तय गर्न सोच्न बाध्य बनाउने छ । कांग्रेसको महाधिवेशनमा हिन्दु धर्मको एजेण्डा आउने निश्चित छ । यस्तै बाध्यता नेपाल कम्युनिस्ट पार्टीलाई पनि आउने छ । सरकार अलोकप्रिय हुँदै जाँदा राजावादीहरु हौसिएका छन् । यसबाट पनि यो प्रदर्शनले नेकपालाई झस्काएको छ । तर पनि गणतन्त्र र धर्म निरपेक्षवादी दलहरुले राजावादीहरुको प्रदर्शनलाई त्यती महत्व दिएको देखिन्न । 

जनता समाजवादी पार्टीका नेता केशव झाले कुनै व्यक्ति विशेषको कारणबाट जनता आक्रोशित भएको बेला राजावादीहरुले व्यवस्थाप्रति नै निराशा जगाउन खोजेको बताए ।‘यो आक्रोश कुनै व्यक्ति विशेषप्रति हो तर व्यक्तिको बिकल्प व्यवस्था हुन सक्दैन’ झाले भने,‘दुनियाँमा सबैभन्दा राम्रो व्यवस्था भनेको गणतन्त्र र संघीयता हो । यसको बिकल्प सोच्न पनि सकिन्न ।’ जसपाका अर्का नेता मनिष सुमनले भने राजावादीरुको प्रदर्शनलाई त्यती महत्व दिन नहुने बताए । ‘यो पानीको फोका मात्र हो । केही समयमै आफै हराउछ । धेरे चिन्ता गर्नु पर्दैन’सुमनले भने ।

झा र सुमनको भनाइमा राजावादी नेता केशरबहादुर विष्टले सहमति जनाउँदैनन् । नेपाली जनताले राजाको संरक्षक र हिन्दुत्व खोजेको बताउदै उनले भने,‘अहिले नेपाली जनतामा त्यसैको अभिव्यक्ति प्रकट भएको हो ।’ अहिलेको प्रदर्शनमा जनता स्वतस्फूर्त आएको उनले दावी गरे । मंसिर १५ गते काठमाडौमा गरिएको प्रदर्शन वीष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपालले गरेको थियो । राजावादीहरुको प्रदर्शनलाई सहयोग गरिरहेको राप्रपा अब भने आफैले कार्यक्रम सुरु गर्न थालेको छ । शनिबार झापामा गरिएको कार्यक्रमको आयोजना राप्रपाले आफैले गरेको थियो । ‘अब राप्रपा आफैले कार्यक्रम गर्छ । अहिले त्यसको ठूलो तयारी हुँदैछ’ राप्रपाकी केन्द्रीय सदस्य निर्मला न्यौपानले भनिन । 

विभिन्न संघ, संस्थाबाट गरिने प्रदर्शनमा आयोजकहरुले पार्टीको झण्डा नबोकी राष्ट्रिय झण्डा बोक्ने गरेका छन् तर राप्रपाले गरेको कार्यक्रममा पार्टीको झण्डा बोक्ने गरिएको छ । झापामा पार्टीको झण्डा बोकिएको थियो । प्रदर्शनकारीहरुले पृथ्बीनारायण शाहको तस्वीर अकिंत प्लेककार्ड बोक्ने गरेका छन् । अझै आश्चर्यको कुरा के छ भने राजावादीहरुको प्रदर्शनमा प्रशासन लचिलो देखिन्छ । कोरोनाको महामारीको कारण देखाएर सरकारले निषेधाज्ञ जारी गरे पनि राजावादीहरुको प्रदर्शनलाई प्रहरीले काँही पनि हस्तक्षेप गरेन । यसबाट राजावादीहरु झन हौसियका छन् । प्रदर्शनमा उनीहरुले हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको नारा लगाउने गरेका छन् ।

कात्तिक १७ गते बुटवलमा कार्यक्रम गरे यता राजावादीहरुले अहिलेसम्म देशका प्रमुख शहरहरुमा श्रृङखलाबद्ध किसिमबाट कार्यक्रम गरिसकेका छन् । राजावादीहरुको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका बयोबृद्ध नेता मोहनचन्द्र अधिकारी तथा कांग्रेसका पुराना नेता विपिन कोइराला जस्ता नेताको उपस्थितिले नेकपा र कांग्रेसलाई झनै झस्काएको छ । जनतामा देखिएको यो निराशालाई वर्तमान व्यवस्था पक्षधर दलहरुले समयमै सम्बोधन गर्न आवश्यक देखिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । 



लोकप्रिय समाचार
नयाँ