arrow

विदेशमा तीन सय एक नेपालीको मृत्यु, खोप छिट्टै आउने विश्वास

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
covid-test-positive-corona.jpg

काठमाडौँ । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या तीन सय एक पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता  जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । 

शनिबार साँझसम्म  विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कूल संक्रमितको ९१ प्रतिशत रहेको हो ।  

हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।    

 
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले कोरोना भाइरसविरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने सङ्केत देखापरेको भन्दै खुशी व्यक्त गरे ।

 रुसले निर्माण गरेको स्पुत्निक पाँच खोपको सामूहिक परीक्षण शुरु गरिएको र बेलायत तथा बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्तरुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाइ छ ।  



लोकप्रिय समाचार
नयाँ