arrow

नेपाल-भारत सीमा खुलाउन माग गर्दै अनिश्चितकालिन धर्ना सुरु

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
dharna1.PNG

सर्लाही । नेपाल-भारत सीमा नाका खुलाउन माग गर्दै सर्लाही सदरमुकाम मलङ्गवामा आइतबारबाट अनिश्चितकालिन धर्ना सुरु गरिएको छ । लामो समयदेखि मुख्य नाकाहरु बन्द गरिँदा नेपाल-भारत दुवैतर्फ हुने आवागमन प्रभावित भएको भन्दै तत्कालै नाका खुलाउनु पर्ने माग राखी मलङ्गवास्थित जिविस चौकमा धर्ना सुरु गरिएको हो । 

रिले धर्ना सुरु गर्नुअघि मलङ्गवा बजारमा मोटरसाइकल र्‍याली निकालिएको थियो । धर्नामा पूर्व मन्त्री एवं सर्लाहीको दुई नम्वर क्षेत्रका संघीय सांसद महेन्द्र राय यादव, एक नम्वर क्षेत्रका संघीय सांसद प्रमोद साह, समानुपातिक संघीय सांसद रुहिनाज, प्रदेश सभा सदस्य अशोक यादव र उपेन्द्र महतो समेत सहभागी भएका थिए। 

यस्तै सर्वपक्षिय सङ्घर्ष समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साह, हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम राय, पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव राय, पूर्व सभासद्, नागरिक समाजका अगुवा, राजनीतिकर्मी, व्यापारी लगायत धर्नामा बसेका छन् ।

 धर्ना कार्यक्रमलाई सम्वोधन गर्ने वक्ताहरुले खेतबारी तथा खोलाखोल्सी र स-साना बाटोबाट मानिसको आउजाउ भइरहेकाले मुख्य सीमा नाकाहरु खोल्नु पर्ने माग गरे । 

कोरोना भाईरस संक्रमणको बहानामा महिनौँदेखि नाका बन्द गरी राख्दा दैनिक आवश्यक पर्ने सरसामग्री भारतीय बजारमा किन्न जान समस्या हुनुका साथै वारिपारी हुने विवाहको रीति नै प्रभावित भएको गुनासो आइरहेको छ । नाका खुलाउन माग गर्दै छठ अघि पनि मलङ्गवास्थित नेपाल-भारत सीमा दशगजा नजिकै पुगेर दुई दिन धर्ना दिइएको थियो । 

यो पटकको धर्नामा अलपत्र छाडिँदा अत्यन्त जरजर बनेको पूर्व-पश्चिम हुलाकी सडकको निर्माण कार्य तत्काल अघि बढाउन समेत माग गरिएको छ । अहिलेको ठेकेदारमार्फत सडक निर्माण नहुने छाट देखिएकाले तत्कालै नयाँ ठेक्का प्रक्रिया अघि बढाई हुलाकी सडकको स्तरोन्नति गर्न माग गरिएको सर्वपक्षिय सङ्घर्ष समितिका संयोजक चौधरीले बताए ।

 हुलाकी सडकमा अहिले बुङबुङती धूलो उड्दा जनजीवन असाध्य आक्रान्त बनिरहेको छ । यस्तै निर्माण कार्य अधूरो रहेको फूलजोर-त्रिभुवननगर, कौडेना-हरिवन लगायतका भित्री सडक पनि अत्यन्त खराब अवस्थामा रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ