arrow

नेकपाको प्लेन स्टार्ट भइसक्यो एउटा नआए अर्को क्याप्टेनले उडाउनु हुन्छ –युवराज ज्ञवाली

आइतबार कुनै पनि स्थायी कमिटी सदस्यले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्छ भनेनन्

logo
प्रकाशित २०७७ मंसिर २२ सोमबार
yubraj-gyewali.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा नआए पनि बैठक अगाडि बढ्ने बताएका छन् । ओलीले धुम्बाराहीको पार्टी कार्यालयमा आफ्ना सर्त पालना नभए नआउने घुर्की लगाएपछि ज्ञवालीले ओली नआए पनि बैठक अगाडि बढ्ने बताएका हुन् ।  

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले भने, ‘हामीले एउटा प्लेनमा दुईवटा क्याप्टेनको व्यवस्था गर्यौं । आइतबारदेखि प्लेन स्टार्ट गरिसक्यौं । सात दिन कुर्छौं आउनु भएन भने पनि अर्को क्याप्टेनले प्लेन उडाउनु हुन्छ ।’ उनले ‘कोही एकजना पार्टी बैठकमा आउँदैन भने पार्टी विधान बमोजिम अगाडि बढ्छ । हामी धैयर्तापूर्वक आउन आग्रह गर्छौं’ भने । 

नेता ज्ञवालीले थपे, ‘हामी आग्रह गर्छौं आउनका लागि । धुम्बाराही पार्टी कार्यालय हो । सबै आउनु हुन्छ । अरुका कुरा सुन्दिन भन्नुहुन्छ भने उहाँ छुट्नु हुन्छ ।’

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई आरोप लगाएको राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि ओली आक्रोशित भएका छन् । उनले त्यसलाई शुरुआतदेखि खारेज गरेको बताएका छन् । खारेज हुनुपर्छ पनि भनेका छन् । उक्त प्रस्ताव खारेज गरिएमात्र स्थायी कमिटी बैठकमा सहभागी हुन्छु भनेका छन् । 

तर ओलीले त्यो प्रतिवेदन खारेज गरे पनि काउन्टर दिनका लागि मंसिर १३ गते प्रचण्डलाई आरोप लगाएर अर्को राजनीतिक प्रतिवेदन ल्याएका थिए । त्यसपछि दुवै प्रतिवेदन मंसिर २१ गते (आइतबार) स्थायी कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरिएको छ । 

स्थायी कमिटी सदस्य ज्ञवालीले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्छ भनेर ओलीले भने पनि आइतबार कुनै पनि स्थायी कमिटी सदस्यले फिर्ता हुनुपर्छ भनेर नभनेको जानकारी दिए । उनले भने, ‘यो अचम्मको कुरा हो । अध्यक्ष ओलीले भन्दैमा अब फिर्ता हुँदैन । बैठक अगाडि बढिसक्यो ।’

एक हप्ताको अवधिमा ओलीलाई बैठकमा सहभागीताका लागि आग्रह गरिरहने तर बैठकमा आउँदै नआउने भनेका खण्डमा आफूहरु अगाडि बढिसकेकाले नरोकिने पनि ज्ञवालीले स्पष्ट पारे । 

उनले भने, ‘यदि ठाउँको कारण र स्वास्थ्यको कारणले उपस्थित हुन नसक्ने हो भने ठाउँ ठूलो कुरा हैन हामी बालुवाटर पनि जान सक्छौं । प्रचण्डले पनि भनिसक्नु भएको छ । सुरक्षाका कारणले पनि बालुवाटार जान सकिन्छ ।’

तर ज्ञवालीले प्रश्न गरे, ‘बालुवाटारमा पनि उहाँ नआए के हुन्छ ?’
 
भदौ २६ गतेको निर्णय ओलीले कार्यान्वयन नगरेको हुनाले नै यहाँसम्म आउनु परेको बताउँदै ज्ञवालीले भने, ‘हामीले पार्टी र देश कसरी हाँक्ने भनेर छलफल गर्छौं । २८ गतेदेखि सदस्यहरुले आफ्नो भनाइ राख्नुहुन्छ र हामी निष्कर्षमा पुग्छौं ।’



लोकप्रिय समाचार
नयाँ