काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबारका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने बताएका छन् ।
बैठकमा पछिल्लो समय देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे प्रमुख राजनीतिक पार्टीहरुको चासो व्यक्त हुन थालेको सन्दर्भमा ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
गत शनिबार प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा १० हजार भन्दा बढीको संख्यामा तामझामका साथ राजावादीहरुले प्रदर्शन गरेपछि ओलीले सर्वदलीय बैठक बोलाएको बुझिन्छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा असफल सरकारले जनताको उपचारमा बेवास्ता गर्नुका साथै महामारीका नाममा भ्रष्टाचार बढेपछि जनता स्वतस्फूर्त रुपमै लकडाउनलाई तोडेर आन्दोलनमा होमिएका थिए ।
१० अर्ब रुपैयाँ कहाँ गयो ? हिसाब देऊ ? भन्दै नेपाली झण्डा लिएर सडकमा उत्रिएका हजारौं युवाको मागलाई सम्वोधन नगरेको सरकारमाथि बिस्तारै राजावादीहरुले समेत दवाव दिन थालेपछि अप्ठेरोमा परेको छ ।
जनताका अपेक्षा पूरा गर्न नसकेको सरकारमाथि दवाव पर्दै जाँदा सडकमा भने गणतन्त्रमाथि प्रश्न उठाउँदै ठूलो संख्यामा युवाहरु सडकमा उत्रिएका छन् ।
ओली सरकारले काठमाडौं जिल्लामा नाराजुलुस गर्न नपाइने गरी गत हप्ता जिल्ला प्रशासन कार्यालय मार्फत प्रतिवन्ध लगाएको भए पनि त्यसलाई बेवास्ता गर्दै शनिबार सिंहदबार अगाडिबाटै संसद भवनसम्म नाराजुलुस लागेको थियो ।
यसलाई कसरी परास्त गर्ने भन्ने रणनीति बनाउन ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । यो चर्चा नेकपाको स्थायी कमिटी बैठकमा पनि गत आइतबार उठेको थियो ।
नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले यो विषयमा गम्भीर छलफल गर्नुपर्ने भन्दै ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।
उनले यो सरकार भ्रष्ट भएको र जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण अहिले सडकमा आवाज बढ्दै गएको उनको निष्कर्ष थियो ।
कांग्रेसले पनि लगायो एजेन्डाको टुंगो
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि सर्वदलीय बैठकमा पेश गर्ने आफ्ना एजेण्डाहरु टुंगो लगाएको छ ।
सर्वदलीय बैठक बस्ने आव्हान भएपछि आफ्नो पार्टीको तर्फबाट एजेण्डा पेश गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
कांग्रेस नेता बालकृष्ण खाँडले बैठकमा कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने बताए ।
कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउने नेता खाँडले बताए ।
यसअघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा कायम रहेको सीमा विवादका विषयमा छलफल गर्न गत बैशाख ३१ गते पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।