arrow

बादल मोर्चा बलियो बनाउँदै, प्रचण्डलाई मनाए बादल ट्रयाकमा आउने बालुवाटारको बुझाई

माधव नेपाल र झलनाथ खनाल पक्ष अडिग

logo
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
badal_new.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मध्यमार्गी धारमा रहेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ पछिल्ला केहि दिनदेखि आफ्नो गुटमा कार्यकारी अध्यष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरुलाई समेट्न थालेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुने गरी उनले प्रचण्ड समूहका केही नेताहरुलाई समेटर मध्यमार्गी धारको नेतृत्व गर्न थालेका हुन् । 

स्थायी कमिटीको बैठकअघि बादलले प्रचण्ड समूहमा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेलसँग गम्भीर छलफल गरेका थिए । पार्टीमा प्रचण्डले पूर्व एमालेको केही समूह र नारायणकाजी श्रेष्ठलाई च्यापेर आफूहरुलाई पाखा लगाउन खोजेको बताउँदै आफूहरु संगठित भएर बस्नुपर्ने उनले बताएका थिए । 

‘पूर्व माओवादीमा संघर्ष गरेका नेताहरु भन्दा बाहिरका नेताहरुलाई च्यापेर पार्टीभित्र पेलिँदा मोहन वैद्यहरु छुट्टिएर जानु परेको तथा गोपाल किराँती र लोकेन्द्र विष्टहरुले पार्टी छोड्नु परेको दृष्टान्त दिँदै प्रचण्डको आफूलाई समर्थन नगर्ने नेताहरुलाई विस्तारै सफाया गर्ने पुरानो चरित्र र स्वाभाव रहेकाले त्यसका विरुद्ध आफूहरु अहिलेदेखि नै सजग हुनुपर्ने धारणा राखेका छन्’, बादलसँग भेटेका एक नेताले भने । 

थापा पूर्वमाओवादीका तर्फबाट नेतृत्व गरेर सरकारमा गएका हुन् । उनले प्रचण्ड पक्षीय नेताहरुसँग आफू सरकारमा रहेका कारणमात्र नैतिकताका आधारमा प्रधानमन्त्री ओलीतिर समर्थन जनाएको बताउँदै आएका थिए । निर्णायक बेलामा प्रचण्डसँगै रहने बताउने गरे पनि पछिल्लो पटक पूर्व माओवादीका नेताहरुले प्रचण्डको गतिविधिलाई सकारात्मक मानेका छैनन् । 

कात्तिक २८ गतेको बैठकमा प्रधानमन्त्रीले समय मागेपछि दिनुपर्ने धारणा राखेका बादलले त्यसयता पूर्व माओवादीका स्थायी कमिटी सदस्यहरुसँग निरन्तर छलफलमा सहभागी भएका छन् । प्रचण्डले बादल समूहका देव गुरुङ र पम्फा भुषाललाई आफनो पक्षमा बोल्न लगाइरहेका बेला बादलले प्रचण्ड पक्षका स्थायी कमिटी सदस्यहरुसँग निरन्तर छलफल गरेपछि प्रचण्ड झस्केका छन् । 

हरिबोल गजुरेलले प्रचण्ड र माधव नेपालको गठबन्धन उपयुक्त नभएको बताउँदै आएका छन् । यसले गर्दा प्रचण्डलाई निरन्तर घाटा भइरहेको छ । त्यसले गर्दा पनि अबका बैठकमा प्रचण्डले आफ्नो तर्फबाट लचकता अपनाउनसक्ने आँकलन गरिएको छ । 

तर माधव नेपाल र झलनाथ खनालको बलियो  साथ रहेकाले प्रचण्डले सिधै ओलीसँग गएर मिलिहाल्ने अवस्था पनि नभएको स्रोतले जनाएको छ ।

‘प्रचण्डलाई नै मनाउनुपर्छ बादललाई आफ्नो ट्रयाकमा ल्याएपछि विवाद मिल्छ’, ओली समूहका एक नेताले भने । ती नेताका अनुसार पूर्व माओवादीहरुको भर कुनै पनि बेला टुट्न सक्ने भएकाले बादललाई प्रचण्डको विकल्पमा उभ्याइयो भने दुवै पक्ष आफ्नो साथमा रहने ओली पक्षको बुझाई रहेको छ । 

गएको सचिवालय बैठकमा बादलले मध्यमार्गी बाटो भन्दै एकीकृत दस्तावेज ल्याउनु पर्ने बताएका थिए । सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि समर्थन जनाएको भएपनि प्रचण्ड पक्ष असहमत रहेपछि स्थायी कमिटी बैठकको शुरुवात भएको थियो ।



लोकप्रिय समाचार
नयाँ