काठमाडौं । रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कडा कार्वाही गर्न विश्व हिन्दू परिषद नेपालले माग गरेको छ । जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले सोमबार सफाई दिएसँगै विश्व हिन्दू परिषदको यस्तो माग अगाडि आएको हो ।
गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्तो गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय भएको भन्दै परिषदले आरोप लगाउनेलाई कडा कार्वाहीको माग गरेको हो ।
हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुँदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासनमाथि नै प्रश्न चिन्ह खडा गर्ने भन्दै परिषदले हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परीक्षण नै नगरी प्रशासनले पूज्य सन्त विरुद्ध कारवाही गर्नु शंकाष्पद रहेको उल्लेख गरेको छ ।
अब उपरान्त हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल आग्रह गरेको छ ।