जनकपुरधाम। प्रदेश नम्बर दुईका अस्थायी राजधानी जनकपुरधाममा निर्माण शुरु भएको ८ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ। मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भवनको उद्घाटन गरेका छन् । यसअघि २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह भइरहेको थियो ।
२०६९ कार्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएका थिए ।
प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माणमा पटकपटक समय थप्दै ८ वर्ष लागेको हो । साथै निर्माण सम्पन्न हुँदा ४५ करोड रुपैयाँ लागत लागेको जाइएको छ । नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै भीडभाडको समस्या अन्त्य हुने विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले बताए ।
नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २५० यात्रु बस्न सक्ने छन्। टर्मिनल भवनमा स्तनपान कक्ष र धुम्रपान कक्षसमेत बनाइएको छ । जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीन निजी विमान कम्पनीले सेवा दिंदै आएको छ। बुद्ध एयरले दैनिक तीन, यति एयरले दुई, र श्री एयरलाइन्सले काठमाडौं–जनकपुर दैनिक एक उडान गर्दै आएको छ ।
टर्मिनल भवनपछि धावनमार्ग विस्तार गर्ने लक्ष्य रहेको विमानस्थलका प्रमुख किरण गौतमले बताए । गौतमका अनुसार १३ सय मिटरको धावनमार्गलाइ १५ सय मिटर गर्ने गरी गृहकार्य भइरहेका जानकारी दिए। आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जिप पार्क गर्न सक्ने क्षमताको पार्किङ स्थल बनाइएको छ ।