काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको बैठकमा सहभागी राप्रपाका नेता दिपक बोहोराले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो।
बैठकमा राप्रपाका नेताहरुले संविधान बनाउँदा चौथो पात्र आफूहरु नै भएको र संविधानप्रति समर्थन रहेको बताए। साथै राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनमा नैतिक समर्थन रहेको बताएका छन्। बैठकपछि राप्रपाका नेता दीपक बोहोराले भने, ‘हामीले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्र कायम गर्ने विषयमा सर्वदलीय बैठकबाट छलफल र निर्णय गरौं भनेर प्रस्ताव राखेका छौं। तर कतैबाट जवाफ आएन।’
बैठकमा कतिपयले राजवादीहरुको आन्दोलनबारे फरकफरक धारणा आएको थियो। राप्रपा नेता बोहोराले भने, ‘यो आन्दोलनबारे चासो सबै पार्टीको थियो, तर हामीले दिएको विकल्पबारे ‘प्रधानमन्त्रीज्यू र अरु दलको पनि रेस्पोन्स आएन।’
सर्वदलीय बैठकमा राप्रपा नेताहरुले कोभिड नियन्त्रणमा सरकार असफल बताएका छन्। साथै कोभिड भ्याक्सिन निःशुल्क उपलब्ध गराउन समेत सुझाव दिएका छन्।