नेपालगञ्ज । बाँके प्रहरीले अटो रिक्सामा छुटेको ७ लाख ४० हजार रुपैयाँ फेला पारेको छ । दाङका दत्तबहादुर नाथले भारतबाट फर्कने क्रममा अटो रिक्सामा छुटाएको ७ लाख ४० हजार रुपैयाँ प्रहरीले सिसी क्यामेराको सहयोगबाट फेला पारेको हो । नाथले भे १ ह ५०१९ नम्बरको अटो रिक्सामा नेपालगञ्जको पुष्पलाल चोकबाट कारकाँदो जाने क्रममा नगद राखेको झोला बिर्सेर छोडेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जडित सिसी क्यामेराको सहयोगले रिक्सा चालक नेपालगञ्ज १४ का देवराज वर्मालाई सम्पर्क गरी रकम सहितको झोला फेला पारेको जनाएको छ । उक्त रकम मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी नाथलाई बुझाएको थियो ।
यस्तै मंगलबारको पत्रकार सम्मेलनमा अन्य घटनामा प्रहरीले हासिल गरेको सफलताको विवरण पनि सार्वजनिक गरिएको छ । गत कार्तिक १० गते बैजनाथ गाउँपालिका वडा नं. ३ बस्ने राधिका बिकले दमराबाट बानियाभारसम्म जाने क्रममा हराएको ४ लाख रुपैयाँ पनि प्रहरीले फेला पारेको छ । वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले सिसी टिभी क्यामेराको सहायताले अनुसन्धान गरी हराएको पैसा कार्तिक १५ गते फेला पारेर पीडित बिकलाई बुझाएको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।
यसैगरी धारिलो हतियार प्रहार गर्ने ४ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत् प्रहरीले सार्वजनिक गरेको छ । कार्तिक २२ गते राति १२ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मदनापुरस्थित जीतकुमार श्रेष्ठको विवाह घरमा नाचगान, रमाइलो गर्ने क्रममा वादविवाद भई सोही रिसिवीका कारण २८ बर्षीय रमेश बुढाथोकीलाई ज्यान मार्ने मनसायले लाठी, चिरपट लगायतले प्रहार गरी घाइते बनाएको घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिई ज्यान मार्ने कसुरमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख रानाले बताए ।
पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मदनापुरका १९ बर्षीय दिनेश पुरी, सोही ठाउँ बस्ने १९ बर्षकै धर्म वली, सोही ठाउँका २१ बर्षीय सुरज कुँवर र सोही ठाउँका १९ बर्षीय उमेश घर्ती मगर छन् । उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार १० वर्ष कैद र १ लाखसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको प्रहरी प्रमुख रानाले बताए ।
यसैगरी बाँके प्रहरी जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त हेमन्तकुमार शर्मालाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ । २०६६ कार्तिक २७ गते नरैनापुर गाउँपालिका वडा नं. ३ वस्ने ७ वर्षिया बालिकालाई जरबस्ती करणी गरी बाँके जिल्ला अदालतबाट २०६८ असार ३१ गतेको आदेशले १० वर्ष कैद सजाय भई फरार रहेका ३४ बर्षीय शर्मालाई सोमबार इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख रानाले बताए ।
यसैगरी मंसिर २१ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम मेशिनमा चोरी गर्न लागेका २ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । प्रमुख रानाका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले माछपुच्छ्रे बैंकको एटिएम मेशिन तोडफोड गरी भाग्न लागेका भारत रुपैडिहा बाबागंज बस्ने २१ बर्षीय सलवान अली र सोही ठाउँ बस्ने बर्ष २१ कै मोविन अलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको बताए । उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २० अनुसार १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको रानाले बताए ।