काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधन गरेर राजतन्त्र र हिन्दूराष्ट्र कायम गर्न माग गरेको छ । राप्रपाले मंगलबारको सर्वदलीय बैठकमा संविधान संशोधन गरेर हिन्दूराष्ट्र र राजसंस्थालाई समेट्न आग्रहसहितको माग प्रस्ताव गरेको थियो ।
राप्रपाका नेता दीपक बोहराले भने, ‘जनताको अभिमत रहेकाले संशोधनको माग गरेका हौं । यही संविधानभित्र राजासहितको लोकतन्त्र र हिन्दूराष्ट्र कायम गर्नुपर्छ भनेर भनेका हौं ।’
सडकको आन्दोलन यत्तिकै तुहिन्छ भन्ने छैन भन्दै दीपक बोहराले भने, ‘जनताको अभिमतको सम्वोधन गरौं ।’
उनले यही संविधानमै संसदीय प्रणालीभित्र रहेर राजालाई स्थान दिन पनि माग गरेका छन् । राप्रपाको संसदमा एकमात्र सांसद रहेका छन् ।
बोहराले सात दलबाटै राजा र हिन्दू राष्ट्रलाई पाखा लगाउने काम भएको भन्दै सडकको अहिलेको मागलाई सर्वदलीय बैठकबाट नै स्वीमनर गर्न पनि माग गरेका छन् ।
उनले देशलाई मुठभेडतिर लैजाने कि शान्तिको मार्गमा लैजाने भन्ने निर्णय दलहरुले नै गर्नुपर्ने बताए ।
उनले यो संविधानलाई आफूहरुले मानेको र सडकले गरेको मागलाई पनि संवोधन गर्न छलफललाई अगाडि बढाउन मागसमेत गरेका छन् ।
नेता बोहराले सडकको आन्दोलनलाई राप्रपाले समर्थन गरेको भन्दै अन्य दलका नेताहरुसमेत सडकमा सहभागी भएको समेत उल्लेख गरेका छन् ।
उनले देशभरको आन्दोलनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।
राप्रपाले मंगलबारको सर्वदलीय बैठकमा संविधान संशोधन गरेर हिन्दूराष्ट्र र राजसंस्थालाई समेट्न आग्रहसहितको माग प्रस्ताव गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उक्त बैठकमा अन्य विपक्षी दलका नेताहरुले भने गणतन्त्र विरोधी आन्दोलनविरुद्ध आन्दोलनमा साथ दिने बताएका थिए ।
तर विपक्षी दलहरुले सडकमा आएका आवाजको दोषी ओली सरकार नै भएको बताएका थिए । नेपाली कांग्रेस, जसपा लगायतले सरकार भ्रष्ट र कोरोना भाइरस महामारीमा असफल भएका कारणले नै यो दिन आएको आरोप लगाएका हुन् ।
राप्रपा नेता बोहराले यो संविधानभित्रै रहेर राजालाई स्पेश दिन आग्रह गरेका छन् । उनले अहिले राष्ट्रपतिले एक दलका लागिमात्र पक्षपोषण गरेको, राष्ट्रको राष्ट्रपति बन्न नसकेको, गरिमा राख्न नसकेको लगायतका आरोप लागिरहँदा राप्रपाले राजसंस्था र हिन्दूराज्यको माग गरेको बताए ।