गुर्धनगौडी । बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ मा एउटा अति विकट गाउँ छ । जुन गाउँको नाम हो–गुर्धनगौडी । गुर्धनगौडीमा न बाटो छ न त सञ्चारको सुविधा नै छ तर स्वास्थ्य सेवा केन्द्र भने रहेको छ । एक जना अहेबको भरमा गाउँमा स्वास्थ्य सेवा दिइँदै आइएको छ। एक हजार जनसंख्या भएको गुर्धनगौडी गाउँमा एक जना अहेब धनबहादुर थारुले सेवा दिँदै आएका छन् ।
एउटा कोठाबाट जसोतसो सेवा दिँदै आएका थारुले एक दिनमा एक दर्जन बढी स्थानीयको स्वास्थ्य जाँच गर्दै आएका छन् । प्रत्येक वडामा एउटा स्वास्थ्य चौकी हुनुपर्ने भएपनि गुर्धनगौडी गाउँ अति विकट रहेकाले स्थानीयको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य चौकी स्थापना गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख सुरेश शर्माले बताए ।
तत्कालीन बैजापुर स्वास्थ्य चौकी अहिलेको राप्तीसोनारी अस्पताल पुग्नै तीन घण्टा लाग्ने भएकाले करिब डेढ बर्षदेखि गुर्धनगौडीमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख शर्माले भने ।
गुर्धनगौडी स्वास्थ्य केन्द्रमा चाहिने औषधि राप्तीसोनारी अस्पताल र गाउँपालिकाबाट उपलब्ध गराइँदै आएको अस्पताल प्रमुख डा गोविन्द थारुले बताए । ‘एकदमै विकट छ तर पनि स्वास्थ्यकर्मी धनबहादुर थारुले दिन रात सेवा दिँदै आएको डा थारुले भने । स्वास्थ्य केन्द्रबाट खोप लगायत अन्य सामान्य सेवा दिँदै आएको डा थारुले बताए ।
डा थारुले स्वास्थ्य केन्द्रको अवलोकन गर्दै आवश्यक सामग्री उपलब्ध गराइने जानकारी दिएका छन् । सञ्चार विना सेवा दिन एकदमै गाह्रो रहेको अहेब थारुले अनुभब सुनाए । महिलाहरु समस्या लिएर आउने हुँदा महिलाको समस्या बुझ्ने महिला स्वास्थ्यकर्मी आवश्यक रहेको अहेब थारुले बताए ।
हालै मात्र सशस्त्र प्रहरीको बिओपी शिलान्यास भएकाले बाटो बन्ने आशामा आफूहरु रहेको अहेब थारुले बताए। राप्तीसोनारी अस्पताल सञ्चालनमा आइसकेकाले अब भने केही सजिलो हुने अपेक्षा गरिएको छ ।
अहिले गुर्धनगौडीबाट राप्तीसोनारी पुग्न या त जङ्गलको बाटो भएर ४ घन्टा पैदल जानुपर्छ या त ५ घन्टा समय लगाएर भारतको बाटो प्रयोग गर्दै नरैनापुर गाउँपालिका भएर पुग्नुपर्छ । गाउँमा बाटो पुर्याउन सम्बन्धित निकायले ध्यान दिने स्थानीयबासीको अपेक्षा छ ।