काठमाडौं । लामो समयपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहिनता तोडिए पनि समस्या भने ज्यूँका त्यूँ रहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा ओलीले प्रचण्डलाई बोलाएर ओलीले आफूसँग सहकार्य गर्न प्रस्ताव गरे पनि प्रचण्डले नमानेपछि समस्या ज्यूँका त्यूँ रहेको हो ।
मंसिर २८ गते स्थायी कमिटी बस्नुअघि उनीहरुबीच संवाद शुरु भए पनि प्रचण्डले ओलीसँग आफ्ना कुरा स्पष्टसँग राख्न सकेनन् । प्रधानमन्त्री ओलीले अरुसँग मिल्नुभन्दा आफूसँगै मिल्दा फाइदा हुने र अरुसँग मिल्दा असहज हुने बताए पनि प्रचण्ड रातोमुख लगाएर बसेका थिए ।
भेटमा ओलीले प्रचण्डलाई ‘तपाईका सबै मागहरु पूरा गरिदिएको थिएँ । तपाईले भनेका मान्छेलाई मन्त्री बनाएकै हो । राजदूत बनाएकै हो । ठेक्का पनि पाएकै छन् । संगठनमा पनि तपाईकै मान्छेको हालीमुहालाी छ । यो भन्दा बढी तपाईलाई के चाहिएको हो ? महाधिवेशनमा पनि तपाईलाई सहयोग गर्ने वचन दिएकै थिएँ’ भन्दा प्रचण्डले रातो मुख लगाएर बसेका थिए ।
उनी ओलीसँग त्यति राम्रोसँग नबोली निस्केका थिए । ओलीले पार्टीभित्रको विवाद धेरै लम्ब्याए बेफाइदा पूर्व माओवादीहरुलाई नै हुने भएकाले विवाद नलम्ब्याउनसमेत आग्रह गरेका थिए ।
एकले अर्कालाई अविश्वासको गर्ने तहबाट ओर्लेर सहमतिको आधार तय गरौँ भन्दै प्रचण्डलाई ओलीले सहकार्यको प्रस्ताव राखेका थिए । ओलीले पार्टीभित्र अनेकन खालका समस्या रहेको बताउँदै तत्कालिन एमालेको समग्र पार्टीको संरचना अवस्था र नेताहरुको व्यवहार बारे पनि प्रचण्डलाई जानकारी गराउँदै सहकार्यको प्रस्ताव गरेका थिए ।
कात्तिक १९ गते टेलिफोन संवाद गरेका ओलीले प्रचण्डलाई बुधबार आफैले फोन गरेर बालुवाटार बोलाएका थिए । खासगरी ओली पक्षका नेताहरु पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेलले प्रचण्डसँगै मिलेर जाँदा तत्काल फाइदा हुने बताएपछि ओली प्रचण्डसँग सहमति गर्न तयार रहेका थिए । उनीहरुले माधव नेपाल समूहलाई अहिले नै स्पेश दिएर जाँदा महाधिवेशनमा प्रचण्डसँग मिल्नसक्ने भएकाले यसपटक पनि ओली प्रचण्डकै सहकार्य जरुरी रहेको भन्दै उनीहरुले दुवै अध्यक्ष मिल्न जोड गरेको स्रोतको दावी छ ।
बुधबारको छलफलमा दुई नेताहरु मिलेपछि सबै विषयहरु टुंगो लाग्छन् पार्टी र नेता कार्यकर्ताहरुको हित पनि यसैमा हुन्छ भनेर ओलीले सहकार्यको प्रस्ताव राखेका थिए । तर प्रचण्डले यो विषयमा मुण्टो मात्रै हल्लाएको केही नबोलेको स्रोतले जनायो ।
ओली र प्रचण्ड फेरि पनि मिल्न सक्नेतर्फ संकेत गर्दै माधव नेपालले भने दुई अध्यक्ष मिल्ने वा दुई अध्यक्षको चोचोमोचोले मात्रै विवाद समाधान नहुने बताउँदै आएका छन् । उनले सचिवालयका सबै सदस्यहरुको समान भूमिका रहने भन्दै दुई अध्यक्ष मिलेर पार्टीको विधि पद्धति सबै मिचेर अघि बढे समस्या झन बढ्ने बताएका छन् ।
ओलीले बुधबार माधव नेपालको नाम नलिई समस्याहरुको समाधान गर्न दुई अध्यक्ष मिले अरु झन्झट नहुने बताएका थिए ।