बेलबारी । प्रदेश १ मै पहिलोपटक मोरङको केराबारी गाउँपालिका ६ राङ्चामा व्यवसायिक कालिज पालन थालिएको छ । धरानका ४४ बर्षीय भुपेन्द्र भट्टराईले कृषि फर्मनै दर्ता गरेर कालिज पाल्न थालेका हुन् ।
करीव डेढ करोड लगानीमा अढाई बिगाहा जमिनमा भट्टराईले कालिज पालन शुरु गरेका हुन् । डेढ बिगाहा आफ्नो जमीन हो भने एक बिगाहा वार्षिक एक लाख दिने सर्तमा लिजमा लिएको उनले बताए ।
एक हजार पाँच सयको दरले १ हजार कालिजको चल्ला ल्याएर पालेको फार्मले मासुको लागि मात्रै नभएर ह्याचारी मार्फत चल्ला उत्पादन गर्ने लक्ष्य रहेको हरि एग्रिकल्चर एन्ड लाईभ स्टक सेन्टर प्रालिका प्रबन्ध निर्देशक समेत रहेका भट्टराईले बताए ।
उनले रिङ्नेक जातको कालिज पालन गरिरहेका छन् । घाँटीमा रिङ जस्तो भएकाले कालिजलाई रिङ्नेक पनि भनिन्छ । तीन वर्षअघि नै फर्म दर्ता गरेका भट्टराईले कालिज पाल्न थालेको भने एक वर्ष मात्रै भएको उनी बताउँछन् ।
कालिज पालन गरिएको स्थान समुद्री सतहदेखि दुई हजार मिटरको हाराहारीमा रहेकाले कालिज व्यवसायका लागि उपयुक्त मानिने उनले दावी गरे । चिसो ठाउँमा अर्गानिक व्यवस्थापनमा पालिएकोले यहाँको कालिज स्वादिष्ट र गुणस्तरीय हुने जानकारहरु बताउँछन् ।
कालिजहरु ४ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको भट्टराईले बताए । कालिजको मासुको विभिन्न परिकारका लागि होटल सञ्चालनमा ल्याउन थालेका छन् ।
शुरुमा कालिज पालनका लागि नेपालको कानूनले नदिए पनि संशोधित वन ऐनले कालिजको व्यवसायिक पालन गर्न सक्ने व्यवस्था गरेपछि यसको पालन शुरु भएको हो । कालिज प्रायः नेपालको पहाडी क्षेत्रको जंगलमा पाइन्छ । तर हाल फ्रान्सबाट भित्राइएको कालिजलाई व्यवसायीक रुपमा पाल्ने गरिन्छ ।
कालिज एक जंगली चरा हो । यो कुखरा जस्तै हुने भएकाले यसलाई वन कुखुरा पनि भन्ने गरिन्छ । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछ । कालिजको मासु सुत्केरी महिला र युरिक एसिड भएकाका लागि राम्रो हुने गरेको छ । त्यसैले पनि कालिजको माग बढ्दो छ । पछिल्लो समय युवाहरुको रोजाईमा कालिज पालन पर्न थालेको छ ।
कालिजसँगै भट्टराईले लोकल कुखुरा, कड्कनाथ कालो कुखुरा, टर्की बटाई, बोयर, रैथाने, जमुना पारी जातका बाख्रा समेत पालन गरिरहेका छन् । उनको व्यवसायलाई दुई छोराले साथ दिइरहेका छन् ।
जेठा छोरा हरि बीबीए अन्तिम वर्ष अध्ययन गरिरहेका छन् भने कान्छो छोरा विवेक आईटी पढिरहेका छन् । पढेकाहरुले कि जागिर खानु पर्ने कि त वैदेशिक रोजगारीमा जानुपर्छ भन्ने मान्यतालाई कृषिमा नयाँपन दिएर हटाउन खोजेको हरि बताउँछन् ।
उनीहरुको व्यवसायलाई केराबारी गाउँपालिका तथा वडा कार्यालयले समेत सहयोग गरिदिएको छ । गाउँपालिकाले व्यवसाय गर्न सहज पुर्याउने उद्धेश्यले सडकको ट्रयाक खोलेर सडकको स्तर उन्नतिसमेत गरिदिएको छ ।