काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठकमा आगामी मंसिर २९ गतेको सरकारविरूद्धको देशव्यापी प्रदर्शनको रणनीति तय गरिने छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकले २९ गतेको प्रदर्शन र १४ औं महाधिवेशन तयारीबारे छलफल गर्ने बताइएको छ ।
गत शुक्रबार देउवा निवासमा बसको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्लामा जिल्ला प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएको थियो । उनले दुई वर्षअघि निर्मित पुल उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । सत्तारुढ दल नेकपाले पदीय दुरुपयोग गर्दै पौडेललाई रोक्ने उद्धेश्यले निषेधाज्ञा नै जारी गरेको थियो ।
अर्को दिन उनले सयौं कार्यकर्तासहित लगेर पुल उद्घाटन गरेका थिए । पौडेलमाथि प्रहरीले डण्डा लगाएपछि कांग्रेसले सरकारविरुद्ध अभियान थालेको हो ।
जिल्लाहरुमा हुने प्रदर्शनमा केन्द्रबाट प्रतिनिधि पठाउनेबारेसमेत बिहीबारको बैठकले निर्णय गर्नेछ ।
कांग्रेसले यो सरकारलाई भ्रष्टाचारीको ट्याग भिराएको छ । सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोरोना नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारलगायतका विषयमा कांग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ ।
सर्वदलीय बैठकमा समेत कांग्रेस यो सरकारविरुद्ध खरो भएर उत्रिएको थियो । कांग्रेसले सडकमा देखिएका गणतन्त्र विरोधी नारामा पनि सरकारकै असफलताको हात रहेको बताएको थियो ।
मंसिर २९ गते कांग्रेसले देशैभर ओली सरकारको अतिवादविरुद्ध आँधीवेहरी नै ल्याउने गरी विरोध प्रदर्शन र सभा गर्ने जनाएको छ ।