arrow

सुकुम्बासीको वर्षौंदेखिको समस्या समाधान

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
1.jpg

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका क्षेत्रमा रहेका सुकुम्बासीको वर्षौंअघि देखिको समस्या समाधान हुने भएको छ । आवश्यकता हेरेर दलित भूमिहिन र भूमिहिन सुकुम्बासी परिवारलाई आवास र कृषियोग्य जमिन प्रदान गरिने भएको हो ।

पालिकाको प्रारम्भिक सर्वेक्षणको क्रममा अहिले दलित भूमिहिन १७ परिवार, भूमिहिन सुकुम्बासी १८ परिवार रहेका छन् । यस्तै पालिका क्षेत्रभित्र रहेका अव्यवस्थित बसोबास गर्ने ३ सय ५० परिवारलाई ब्यवस्थित गरिने भएको हो ।

सोमबार मात्रै भूमि सम्वन्धी समस्या समाधान आयोग ताहाचल काठमाडौंसँग विराटनगरमा सम्झौता गरी हिलिहाङ गाउँपालिकाले अब पालिका क्षेत्रमा रहेका भूमि सम्वन्धी समस्या समाधान गर्न प्रक्रिया अघि बढाउन लागेको गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेनले बताए । 

आयोगबाटै भूमि सम्वन्धी समस्याहरुको विवरण भराउन प्रस्तावना आएको र उक्त प्रस्तावना फर्म भरेर पठाएपछि पाँचथरमै एक मात्र गाउँपालिका हिलिहाङ गाउँपालिका छनौट भएको उनले बताए ।

स्थानिय तहको निर्वाचनताको समयमा हामीले गरेको चुनावी प्रतिबद्धतापत्र पनि पूरा गर्ने समय आएको र यो कामलाई समयमै सम्पन्न गर्ने तीव्र रुपमा लाग्ने अध्यक्ष लिङदेन बताउँछन् । 

अब ३ महिना अर्थात् पुस,माघ र फागुनमा वास्तविक लगत संकलन गरिने, चैत्र वैशाखमा प्रमाणिकरण गरिने र असारभित्र सवैलाई लालपूर्जा वितरण गरिने तयारी साथ पालिका अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बुले बताए । 

प्रदेश १ मा रहेका १ सय ३७ स्थानीय तहमध्ये ३० वटा स्थानिय तह मात्रै आयोगले भूमि सम्वन्धी समस्या समाधान गर्न स्थानिय तह छनौट गरेको हो ।

हिलिहाङको जोरपोखरी, गोपेटार, अमरपुर, चतुरे, काबेली बजार लगायतका स्थानमा अव्यवस्थित बसोबास रहेको र हामी जति सक्दो चाँडो ती बजारवासीहरुलाई व्यवस्थित गर्दै दलित भूमिहिन र सुकुम्बासी परिवारलाई लाल पूर्जा उपलब्ध गराउन आफूहरु लागि पर्ने हिलिहाङ १ का वडाअध्यक्ष गोपी भण्डारी बताउँछन् । 

पाँचथरमा सुकुम्बासीहरुको समस्या हल गर्न हिलिहाङ गाउँपालिका छनौट भएपछि वर्षौंदेखि अब्यवस्थित बसोबास गरिरहेका ती स्थानियहरु,भूमिहिन सुकुम्बासी र दलित भूमिहिन परिवार हर्षित भएका छन् ।



लोकप्रिय समाचार
नयाँ