स्याङ्जा। होमस्टेमा आउने आन्तरिक र बाह्रय पर्यटकलाई स्थानीय र अर्गानीक स्वाद चखाउन स्थानीय जातका कुखुराका चल्ला उपहार स्वरुप प्रदान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका ८ वटा होमस्टेलाई कुखुराका चल्ला वितरण गरेको हो । स्थानीय जातका कुखुरा लोप हुने अवस्थामा जान थालेपछि संरक्षण पनि हुने र पर्यटकलाई स्वाद चखाउन पनि पाईने भएपछि वालिङ नगरपालिकाले यो अभियान चलाएको हो । ‘होमस्टे कुखुरापालन समूह’ गठन गरी सोही समूहलाई ‘कुखुरा विकास कार्यक्रम’ अन्तर्गत प्रति समूह छ सय वटा चल्ला वितरण गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन्।
होमस्टेको पहिचान पनि हुने अनि लोप हुन लागेको स्थानीय कुखुरा संरक्षण पनि भएकाले यो अभियान चलाएका हौं नगर उपप्रमुख तिवारीले भनिन्,‘ स्थानीय जातका कुखुरापालनमा जोड दिने उद्देश्यले होमस्टेहरुलाई निशुल्क कुखुराका चल्ला वितरण गरेका हौं ।’ कुखुराका लागि आवश्यक पहिलो चरणको दानासमेत उपलब्ध गराएर आगामी दिनमा आवश्यक सहयोगहरु पनि जुटाउदै जाने तिवारीले भनिन् । नगरपालिकाले प्रदान गरेको सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गरिन्।
नगरपालिकाले उपलब्ध गराएको चल्लाहरुको राम्रोसँग रेखदेख गरी ब्यवसायिक लाभ लिन र होमस्टेको आर्थिक स्तरोन्नतितर्फ अग्रसर हुँदै जानका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । यो वितरण कार्य वालिङको लागि पछि पहिचानको रुपमा विकास हुने विश्वास ज्ञवालीको छ।
वालिङ ५ मा रहेको देउराली महिला कुखुरापालन समूह, वालिङ ७ मा रहेको बनकट्टा होमस्टे महिला कुखुरापालन समूह, १४ को लंकाकोट होमस्टे महिला कुखुरापालन समूह, १० को दाङसिङ होमस्टे महिला कुखुरापालन समूह, १० कै बझाकोट होमस्टे महिला कुखुरापालन समूह, १२ को कोखे होमस्टे महिला कुखुरापालन समूह र १२ कै त्रिकन्या होमस्टे महिला कुखुरापालन समूहलाई प्रति समूह ६०० वटाका दरले कुखुराका चल्ला वितरण गरिएको पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताइन् । नगरपालिकाका विभिन्न वडामा क्रियाशील रहेका होमस्टेहरुमा आबद्ध रहेका २०–३० घर परिवारले कुखुरा भाग लगाएर आ–आफ्नो घर घरमा पाल्ने शाखा प्रमुख श्रेष्ठले बताइन्।
पहिलो चरणमा आठ वटा होमस्टेलाई चार हजार ८०० कुखुराका चल्ला वितरण गरिएको र अब केही दिनमा बाँकी रहेका राम्चे बुढाकोट होमस्टे र सुन्तलाबारी सामुदायिक होमस्टे होमस्टेलाई ६००-६०० वटा कुखुराका चल्ला वितरण गरिने शाखा प्रमुख श्रेष्ठले बताइन्। नगरपालिकाले स्थानीय जातका कुखुराका चल्लाहरु निशुल्करुपमा उपलब्ध गराएर होमस्टेहरुको आर्थिक स्तर उकास्नका लागि थालेको प्रयास राम्रो रहेको होमस्टे सञ्चालकहरुले बताएका छन्। होमस्टेको हबका रुपमा बनाउन लागि परेको स्याङ्जालाई यो अभियानले टेवा पुग्ने विश्वास लिइएको छ।