arrow

राजस्व परामर्श समितिसँग निकासी पैठारी संघको अन्तर्क्रिया

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
nfta-revenue-advisory-committee-meet.jpg

काठमाडौं। राजस्वसम्बन्धी नीति निर्माणमा सरकारलाई रायसुझाव दिन गठित स्थायी संरचना नेपाल राजस्व परामर्श समितिले बिहीबार आयात निर्यातकर्ता व्यापारीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँग छलफल गरेको छ।

समितिको कार्यालय त्रिपुरेश्वरमा तीन घन्टा चलेको अन्तर्क्रियामा परामर्श समितिका तर्फबाट अध्यक्ष महेश दाहाल, सदस्य निर्मलहरि अधिकारी, भन्सार विभागका उपमहानिर्देशक तथा समितिका सदस्य सचिव भूमिराम शर्मालगायत सहभागी थिए। संघको तर्फबाट अध्यक्ष सुनिल वंशल, उपाध्यक्ष विनोद सेठिया, महासचिव मदन मित्तल, सचिवद्वय अनिल अग्रवाल र खगेन्द्र सिटौला तथा कार्यसमिति सदस्यहरु आकाश गोल्छा, अमित मोर र प्रदीप राजगाढिया छलफलमा सहभागी थिए।

सो अवसरमा समितिका सदस्यसचिव भूमिराम शर्माले समितिको काम, कर्तव्य र अधिकारबारे प्रस्तुति दिनुभएको थियो । संघको तर्फबाट उपाध्यक्ष विनोद सेठियाले राजस्व नीति तथा राजस्वमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारबारे प्रस्तुति पेस गरेका थिए।

कार्यक्रममा समितिका सदस्य निर्मलहरि अधिकारीले संघले अघि सारेका विषय र मुद्दाहरु मननयोग्य रहेको भन्दै मुलुकमा लगानीमैत्री वातावरण तयार गर्न सके आर्थिक कारोबार र राजस्व स्वतः बढ्ने बताए। आफूहरुले लगानीमैत्री नीति निर्माणकै लागि पहल गर्ने उनले बताए।

समितिका अध्यक्ष दाहालले संघ लगायत निजी क्षेत्रका संस्थाहरुसँग वर्षैभरी छलफल चलिरहने बताउँदै राजस्व नीतिमा गर्नुपर्ने सुधारबारे प्रस्ट सुझाव प्रस्तुत गर्न संघलाई आग्रह गरे।



लोकप्रिय समाचार
नयाँ