arrow

संसदीय समितिको निर्देशन लत्याएर सरकारले गर्यो पोखरेललाई एआइजीमा बढुवा

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
bishwaraj-pokharel-dig.jpg

काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । 

सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो । अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो । 

तर संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बढुवा प्रक्रिया रोक्न निर्देशन दिएको भोलिपल्ट नै सरकारले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गरेको हो । व्यक्तिका लागि दरबन्दी थपेर बढुवा प्रक्रिया अघि बढाइएको र यसले प्रहरीको चेन अफ कमान्डमै असर पर्ने भन्दै राज्य व्यवस्था समितिले उनको बढुवा रोक्न निर्देशन दिएको थियो । 

समितिको गत बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समितिको निर्देशन सम्बन्धित ठाउँमा पुर्याउने बताएर पन्छिएका थिए । तर सरकारले यसअघि जस्तै समितिको निर्देशन लत्याएर आफू नै सर्वेसर्वा बनाएको छ । 

विधिको शासन लत्याएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना हुँदै आए पनि सरकार पछि हटेको पाइएको छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रस्तावमा दरबन्दी थपिएको बताइन्छ । बादलले आफूलाई पद थप्ने बारे पनि जानकारी नभएको र पोखरेललाई एआइजी बनाउनेबारे कुनै जानकारी नदिइएको बताएका थिए । 

उपप्रधानमन्त्री पोखरेल र एआइजीमा बढुवा भएका पोखरेल आफन्त भएकाले उनकै लागि सो दरबन्दी थपिएकोसमेत बताइन्छ । एकजनामात्र एआइजी भएपछि अब स्वतः आइजीपी बन्न बाटो खुल्ने भएकाले नियम मिचेर दरबन्दी थपिएको स्पष्टै भएपछि सरकारको चर्को आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
नयाँ