काठमाडौं । चिसो बढ्दै जाँदा समस्या थपिँदै गएको छ । देशैभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उपत्यकामा भिजिबिलिटी मात्र ३ किलोमिटर रहेको छ भने तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । अधिकतम तापक्रम १९ देखि २१ डिग्रीसम्म हुन सक्नेछ ।
उनले तराईका क्षेत्रमा कुहिरो लागेको र यो क्रम केही भागमा दिउँसोसम्मै रहन सक्ने बताइन् । उनका अनुसार पश्चिमी केही भूभागमा शुक्रबार वर्षा हुन सक्नेछ । त्यस्तै पश्चिमी माथिल्लो केही भूभागमा हिमपातसमेत हुन सक्नेछ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिक बदली रहेको छ ्र
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भूभागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।