दमौली। नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किएका छन्। खासगरी पार्टीको आगामी महाधिवशेनमा हिन्दूत्वको एजेण्डालाई स्थापित गर्ने उदेश्यका साथ शंकर भण्डारी भण्डारी देश दौडाहामा निस्किएका हुन्। नेपाली कांग्रेसका नेता एवं केन्द्रिय सदस्य भण्डारीले गृह जिल्ला तनहुँबाट देश दौडाहा अभियान सुरु गरेका हुन्। त्यसपछि भण्डारीले कास्कीको पोखरामा कांग्रेस पार्टीसंग आवद्ध हिन्दूवादी नेताहरुसँग भेटघाट गरेका थिए।
पोखरामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागितामा भेटवार्ता भएको थियो। त्यसपछि उनी स्याङजा पुगेका थिए। स्याङजामा पार्टीद्धारा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भण्डारीले हिन्दूत्वको एजेण्डालाई सार्थकता दिलाउनका लागि महाधिवेशन प्रतिनिधीहरु चयन गर्ने बेलामा हिन्दूत्वको एजेण्डा बोक्ने व्यक्तिहरु निर्वाचित हुनु जरुरी रहेको बताएका थिए। त्यसका लागि अहिले देखि ने तयारीमा जुट्न उनले आग्रह गरेका छन्।
सनातन हिन्दू धर्म सस्कृति नेपाल र नेपालीको पहिचान भएको हुँदा नेपाल र नेपालीको पहिचान जोगाउनका लागि पनि हिन्दूत्वको एजेण्डालाई आगामी महाधिवेशनमा सशक्त ढंगले उठाउन उनले जोड दिएका थिए।
नेता भण्डारीले हिन्दूत्वलाई समाप्त पार्दै नेपालको राष्ट्रियतालाई नै समाप्त पार्ने योजना विदेशीहरुले बनाइरहेको बताएका छन्। यस्तो बेलामा मुलुकको राष्ट्रियता जोगाउनका लागि पनि नेपाललाई हिन्दू राष्ट्र बनाउन अपरिहार्य रहेको उनको भनाइ छ।
नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दै गर्दा सबै धर्म सस्कृतिको संरक्षण हुने समेत भण्डारीको भनाइ छ।स्याङजापछि भण्डारी लगत्तै रुपन्देही पुगेका छन्।
रुपन्देहीमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै उनले हिन्दूत्वको एजेण्डाको विषयमा वहस चलाइ रहेका छन्।